भक्तपुर । न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । चागुँनारायण नगरपालिका–६ नगरकोटस्थित गैरीगाउँका ३७ वर्षीय मनबहादुर तामाङको तीन तले घरमा सञ्चालित होटलबाट उनीहरु पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुवाखालबाट १६ थान कौडा, रु. आठ लाख २२ हजार ६० सहित १३ जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।












