काठमाडौं । कैलालीका अर्जुन दासको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा टोलीले पक्राउ परेका चार जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दीलिप दास, मनोज भण्डारी, बमबहादुर बोहरा र सुमित साउद रहेका छन् । प्रहरीका अनुसार उनीहरू चारै जना १९ वर्षका हुन् ।

प्रहरीका अनुसार अर्जुन दासको हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए । काम खोज्न भैरहवा आएका उनीहरूलाई प्रहरीले सीममाबाट बिहीबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न १० जना रहेको खुलेको प्रहरीले जनाएको छ । अन्य फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गत पुसमा जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनभित्र सोही ठाउँका २५ वर्षीय अर्जुन दास मृत फेला परेका थिए । दासको शव रूखमा बाँधिएको र विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो ।














