Logo
Logo

लोकतन्त्रको रक्षा गर्नु यतिबेलाको कार्यभार


1.6k
Shares

वीपी कोइरालाले गरेको गल्ती, कमजोरीलाई गणेशमान सिंहले सच्याए । नेपाली कांग्रेस वीपीकै ‘मेलमिलाप’को नीतिमा अगाडि बढेको भए, नेपालमा गणतन्त्र सम्भव थिएन ।

२०४६ सालको संयुक्त जनआन्दोलन प्रजातन्त्र पुनःस्थापनाका लागि भएको थियो । उक्त आन्दोलन सफल पार्न सर्वोच्च नेता सिंहले कम्युनिष्टहरुसँग सहकार्य गरेका थिए । २०६२-६३ को संयुक्त जनआन्दोलन गणतन्त्र स्थापनाका लागि भएको थियो । त्यसको नेतृत्व गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका थिए । त्यस्तै संविधानसभाबाट पारित भएको नेपालको संविधान जारी गर्ने काम प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा भएको थियो ।

नेपालको राजनीतिक इतिहासमा वाम–लोकतान्त्रिक शक्तिहरुको निर्णायक भूमिका रहेको छ । मुलुकको संविधानमाथि अहिले पनि खतरा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवसँगको रिसले दुई-दुईपटक संसद् भंग गरेका होइनन्, त्यसका पछाडि ‘रअ’प्रमुख सामन्त गोयलको भूमिका छ भन्ने कुरा खुलारुपमा बाहिर आएको छ ।

अवस्थामा प्रतिगामी पुनर्उत्थानवादी तत्वलाई फाइदा पुग्ने काम कांग्रेसका नेताहरुले गर्नु हुँदैन । पार्टीभन्दा माथि देश र जनता छन् । देश र जनताको हितलाई हेरेर लोकतन्त्र रक्षा गर्नु यतिबेलाको कार्यभार हो ।

ओलीको यही भित्री नियत बुझेर माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेबाट बाहिरिए । माधवकुमार नेपाल मात्र एमालेबाट विद्रोह गरेर बाहिर नआएको भए, यो गठबन्धन सरकार बन्ने कुनै सम्भावना नै थिएनन् ।

पुस ५ गते ओलीले गरेको प्रतिगमनविरुद्ध माधवकुमार नेपालले सडकमै आएर प्रतिवाद गरे । आन्दोलनको आँधीबेहरी सिर्जना गरे । कांग्रेसलाई संयुक्त आन्दोलनमा आउन आह्वान गरे । तर, त्यतिबेलासम्म पनि नेपाली कांग्रेस संयुक्त आन्दोलनमा आउन तयार भएन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले अदालतले जे निर्णय गरे पनि सम्मान गर्छु भनेर मौनता साँधे । देउवाले के कुरा बुझेनन् भने पुस ५ को घटना सर्वोच्च अदालतका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाकै आन्तरिक सल्लाहमा भएको थियो । त्यसैले ओेली ढुक्क थिए ।

तर, आन्दोलनको बलमा ओलीले दुई–दुईपटक गरेको संसद् विघटन सर्वोच्चबाट खारेज भयो र तिनै तहको निर्वाचन हुने वातावरण बन्यो । नभए, देश भड्खालोमा जान्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पथ्र्यो ।

पाँच दलीय गठबन्धनको सरकार एउटा विशेष परिस्थितिमा निश्चित उद्देश्यका लागि बनेको हो भन्ने कुरा कांग्रेसका शेखर कोइराला, गगन थापाहरुले बुझेका छैनन् भन्न मिल्दैन । बरु उनीहरुको अभिव्यक्तिबाट उनीहरु कतैबाट सञ्चालित छन् भन्ने बुझिन्छ ।

यो पाँच दलीय गठबन्धन प्रतिगामी र पुनर्उत्थानवादी तत्वलाई जरादेखि उखेलेर फाल्नका लागि भएको हो । स्थानीय, प्रदेश र संघको निर्वाचनसम्म यो गठबन्धन जोडिने छ ।

निर्वाचनपछि कम्युनिष्टहरु फेरि मिल्छन् भन्ने आशंकाको भरमा कांग्रेस एक्लाएक्लै निर्वाचन लड्ने हो भने त्यसले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था नै कमजोर हुन्छ । पाँच प्रमुख दलका शीर्ष नेताहरुले यही कुरा बुझेर संविधान जोगाउन तिनै तहको निर्वाचनमा मिलेर जाने सहमति बनाएका हुन् ।

पाँच दलीय गठबन्धन सरकार सञ्चालनका लागि मात्र नभएर संविधान जोगाउने उद्देश्यसहित भएकोले यसबाट सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई नै हुनेछ । किनभने, विगतका निर्वाचनमा कांग्र्रेसको मुख्य प्रतिद्वन्द्वी एमाले नै थियो ।

अब एमाले विभाजन भएको अवस्था छ र अन्य कम्युनिष्ट पार्टीहरु पनि एमालेविरुद्ध पाँच दलीय गठबन्धनमा जोडिएकोले तिनै चरणको निर्वाचनमा एमाले पत्तासाफ हुने पक्का छ । सम्भावित परिणामबाट आत्तिएको एमालेले कमल थापाजस्तो प्रतिगामीसँग सहकार्य गरेको छ । यसबाट पनि पुस ५ गतेको कदम प्रतिगमन उन्मुख छ भन्ने देखिन्छ ।

यस्तो अवस्थामा प्रतिगामी पुनर्उत्थानवादी तत्वलाई फाइदा पुग्ने काम कांग्रेसका नेताहरुले गर्नु हुँदैन । पार्टीभन्दा माथि देश र जनता छन् । देश र जनताको हितलाई हेरेर लोकतन्त्र रक्षा गर्नु यतिबेलाको कार्यभार हो ।

प्रतिक्रिया दिनुहोस्