
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले रास्वपा संघीयता विरोधी पार्टी नभएको बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले रास्वपा संघियता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए । सांसद झाले प्रदेश सभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघियतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे । उनले मधेसमा गत निर्वाचनमा रास्वपाले अत्याधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानिय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे ।
उनले भने, ‘हामी संघीयताको विरोधी होइनौ, बरु हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ । हामी प्रदेशसभा र प्रदेश परिषद्को परिकल्पनातर्फ जान चाहन्छौँ । संघियताका बारेमा यसमा थप व्याख्या गर्न आवश्यक छैन । हामी एकजुट हुन आवश्यक छ । आफ्नै–आफ्नै बीचमा झगडा गर्न थालियो भने, एकअर्कामाथि झुटा आरोप–प्रत्यारोप लगाउन थालियो भने, हामी कही पुग्न सक्दैनौ । हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अगाडि बढ्नुपर्छ ।’
मधेशी समुदायका बीचमा आपसी विवाद गर्ने तथा एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा पनि उनले जोड दिए । सांसद झाले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको बताए ।















