काठमाडौं । अहिले देशमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको संयुक्त प्रभाव छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
त्यस्तै, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । प्रदेश नं. १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
यसैबीच, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।











