मकवानपुर । मकवानपुरको शिखरपानीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना वृद्धाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१५ शिखरपानीमा सोमवार साँझ मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीया मनमाया पाख्रिन रहेकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय पशुपतिनगरको नियन्त्रणमा रहेको छ भने चालक फरार छन् । फरार चालकको खोजी कार्य भइरहेको जनाइएको छ ।











