
काठमाडौं । मुलुकको राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा गठबन्धन दलका तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंह चुनावी मैदानमा छिन् । सिंह मतदाताको घरदैलोमा व्यस्त छिन् ।
काठमाडौंमा तीन लाखभन्दा बढी मतदाता छन् । सिंहले चुनावी अभियानमा कुनै बनावटी र ठूला–ठूला हावादारी आश्वासन दिएकी छैनन् । उनले महानगरमा सुशासन, भ्रष्टाचार नियन्त्रण र समानुपातिक विकासलाई प्राथमिकता राखेकी छिन् ।
सुशासन कायम भयो भने मात्र विकास निर्माण र अन्य काममा चाँडै सकारात्मक प्रतिफल आउने उनको दृढ विश्वास छ । चुनावी प्रचारबाटै सुशासन कायम हुनुपर्ने मान्यतामा सिंह छिन् ।
घरदैलो अभियानमा महानगरबासी स्वतस्फूर्त रुपमा सहभागिता बनेका छन् । झण्डा र व्यानर कार्यकर्ताहरुले आफैँ बनाएर सहयोग गरेका छन् ।
‘मलाई गौरव महसुस भइरहेको छ, लामो समय गृहिणी भएर बसे पनि राजनीतिमा म निष्क्रिय थिइनँ’, सिंह भन्छिन् । सिंह ०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा आएकी हुन् ।
सिंहका ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह, श्रीमान् प्रकाशमान सिंह, जेठाजु पिएल सिंह सबै राजनीतिमा थिए । त्यही कारण पनि सिर्जनाले गृहिणी भएर घर सम्हाल्नुपर्ने अवस्था आएको थियो ।
तर, पनि उनी राजनीतिसँग भने नजिक थिइन् । गणेशमान सिंह र मंगलादेवीको बुहारी हुन पाउँदा उनलाई गर्व छ । सिंहले लामो समयदेखि नेपाल महिला संघको सल्लाहकारका रूपमा पनि काम गरेकी छन् ।
उनी भन्छिन्, ‘व्यक्तिगत रूपमा मेयरको उम्मेदवार नै बन्नुपर्छ भन्ने सोच ममा थिएन । महिला संघमा छलफलका क्रममा अब नेतृत्व लिने ठाउँमा पनि जानुपर्छ भनेर आवाज उठ्यो ।
छलफलकै क्रममा महानगरको प्रमुखमा महिला उम्मेदवार बन्नुपर्छ भन्ने निचोडसहित महिला संघले मलाई नै मेयरको उम्मेदवारको रूपमा अघि सारेपछि पार्टी पनि सहमत भयो र सम्भव भएको हो ।’
उनले कांग्रेसमा महिला संघको सल्लाहकारबाहेक अहिलेसम्म अरु कुनै पद लिएकी थिइनन् । तर, महिलाका क्षेत्रमा भने निरन्तर काम गरिरहेकी थिइन् । भूकम्प र कोभिडको समयमा सामाजिक अभियन्ता बनेर काम गरेको अनुभव उनमा छ ।
त्यही कारण पनि महिला संघले सिंहलाई मेयरको रुपमा अघि बढाउन लविङ गरेको थियो । सिंहले युवावस्था लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि खर्चिएकी छन् । कैयनपटक पुलिसको लाठी खाएकी छन् ।
हनुमानढोकाको चिसो छिँडीमा पटक–पटक बसेको अनुभव पनि उनीसँग छ । राजनीतिमा महिलाको योगदानको कदर हुनुपर्ने उनी बताउँछिन् ।
‘योगदानलाई नजरअन्दाज गरेर विरासतलाई मात्र जोडेर हेर्नु राजनीतिमा महिलाको अवमूल्यन हो’, सिंह भन्छिन् । काठमाडौं महानगरपालिकाको वेथिति सुधार गर्न सिंहका केही सपनाहरू छन् ।
फोहोर, धूलो, धूवाँ, सडकमा खाल्डाखुल्डी लगायतका थुप्रै समस्या छन् । यी समस्या तत्काल सम्बोधन गर्न उनले योजना बनाएकी छन् । महानगरमा सुशासनको अभाव छ ।
मेयरमा जितेपछि महानगरलाई भ्रष्टाचारमुक्त बनाउने, चुस्तदुरुस्त सेवा प्रदान गर्ने, विज्ञान प्रविधिको उच्चतम उपयोग गर्दै घरबाटै सेवा लिन सकिने व्यवस्था गर्न लागिपर्ने सिंहको प्रतिबद्धता छ ।
काठमाडौंमा फोहोरको विकराल समस्या समाधान उनको पहिलो प्राथमिकतामा छ । फोहोरलाई घरबाटै व्यवस्थापन गर्न सकिने उनी बताउँछिन् । महानगरपालिकाले काठमाडौंमा उठेका फोहोरलाई प्रविधिको प्रयोग गरेर काठमाडौंमै व्यवस्थापन गर्न सक्ने उनी बताउँछिन् ।
फोहोरलाई मोहरमा रूपान्तरण गरी अर्थोपार्जन गर्न सकिने विश्वास उनमा छ । ट्राफिक, फुटपाथलगायत समस्या समाधानका लागि योजना बनाएर तत्काल अघि बढ्ने अठोट उनको छ ।
महिलालाई प्राथमिकतामा राखेर काम गर्ने उनी बताउँछिन् । महानगरमा न्यून आय भएका महिला, परिश्रम गरेर डेरा भाडामा बस्ने वर्ग, मजदुर, किसान, विपन्न वर्ग, श्रमजीवी वर्ग एवं पिछडिएको वर्गका लागि विशेष राहतको प्याकेज ल्याउने योजनामा सिंह छिन् ।
महिलालाई सीपमूलक तालिम, सीपलाई सदुपयोग गर्न प्रत्येक वडामा कोसेली घर सञ्चालन, महानगरपालिकाले समन्वय गरेर बजारीकरण, आत्मनिर्भर बनाउन उनीहरुका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सहजीकरण गर्ने, श्रम गरेर खाने महिला दिदीबहिनीका लागि सामुदायिक विद्यालयसँग समन्वय गरेर शिशु स्याहार केन्द्र खोल्नेलगायतका योजना उनका छन् ।
उत्पीडित एवं श्रमजीवी महिलाका लागि सामुदायिक विद्यालयसँग सहकार्य गरी अत्यन्त न्यून शुल्क लिएर दिनभर सुरक्षित राख्ने व्यवस्था मिलाउने मात्र नभई बालबाच्चालाई नियमित पौष्टिक आहार र सुरक्षासम्मको व्यवस्था महानगरले गर्ने सपना सिंहको छ ।
महानगरका सबै सडकमा बत्ती र सिसिटिभी राख्ने प्रतिबद्धता उनको छ । नेपाल प्रहरीसँग समन्वय गरी भित्री तथा बाहिरी सडकमा अनिवार्य सडकबत्ती र सिसिटिभी राख्ने योजना उनको छ ।
सिंहको अठोट छ, ‘म काम गर्न आएकी हुँ, महानगरवासीको सेवा गर्न चाहन्छु, सबैले चाहेको र खोजेको स्वच्छ, सफा र सुरक्षित काठमाडौं बनाएर देखाउने मेरो प्रतिबद्धता छ, सम्पूर्ण महानगरवासीले आफ्नो अमूल्य मत दिएर जिताउनेमा म पूर्ण विश्वस्त छु ।’
काठमाडौंमा तीन लाखभन्दा बढी मतदाता छन् ।











