
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा छन् । सोमबार डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवा शुक्रबार मतदान गरेर मात्र काठमाडौं फर्किनेछन् ।
उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सोमबार कैलालीको धनगढीमा पाँच दलीय गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गरेर डडेल्धुरा गएका थिए ।
देउवाले सोमबार आफ्नो मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकाको बडालमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवाले आज अमरगढी नगरपालिका र भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार अमरगढीको बागबजारस्थित बसपार्कमा बिहान १० बजे र परशुरामको जोगबुढास्थित लालढुंगामा दिउँसो २ बजे चुनावी सभा हुनेछ ।
डडेल्धुरामा काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले एमालेसँग तालमेल गरेको छ भने काँग्रेस एक्लै निर्वाचनमा उत्रिएको छ । पाँच दलीय गठबन्धनको नेतृत्व देउवाले गरिरहेका बेला उनको गृहजिल्लामा चुनावी तालमेल भएन । उक्त परिस्थितिलाई मध्येनजर गरी देउवा स्थानीय तह निर्वाचनको अन्तिम घडीमा गृहजिल्ला केन्द्रित भएका छन् ।











