काठमाडौं । वैशाख ३० गते ७५३ वटै स्थानीय तहमा एकैसाथ निर्वाचन हुँदैछ । ६ महानगर र ११ उपमहानगरसहित स्थानीय तहहरूमा सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान सत्तारुढ गठबन्धनले इमानदारपूर्वक मतदान गर्ने हो भने यसपटक महानगरमा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था बनेको छ ।
नेवार विरोधी निर्णयको सिकार हुँदै एमाले
अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मतका साथ विजयी भएका थिए । तर, विद्यासुन्दरले अपेक्षाकृत काम गर्न सकेनन् । निर्वाचनअघि घोषणा गरेका कुनै पनि काम नगरेका कारण उनी आलोचित मात्र भइनन्, एमालेको भोट समेत घटाए ।
काठमाडौंमा एमालेको मत घट्नुमा विद्यासुन्दर फ्याक्टर सामान्य हो । त्यो भन्दा ठूलो फ्याक्टर केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला सरकारले गरेको गुठी सम्बन्धी अति सम्वेदनशील विषय हो ।
नेवार समुदायको अत्यन्तै संवेदनशील मानिने गुठी परम्परामाथि हस्तक्षेप गर्दै ओली सरकारले गुठी विधेयक ल्याएको थियो । उक्त विधेयक अनुसार, गुठीहरूको नियमन र व्यवस्थापन गर्ने भन्दै गुठीका चलअचल सम्पत्ति कब्जा गर्ने नियत ओली सरकारले राखेको थियो ।
गुठीमार्फत नेवार समुदायले सञ्चालन गर्ने सबैखाले सामाजिक, सांस्कृतिक रितिरिवाजलाई बिथोल्ने र उपत्यकाको सामाजिक सद्भावमाथि नै धावा बोल्ने काम गरेका कारण एमालेप्रति काठमाडौँबासी नेवार समुदायको मोहभंग भएको छ ।
काठमाडौंका सन्दर्भमा एमालेका लागि अर्को सबभन्दा ठूलो चुनौतिको विषय बनेको छ, अन्तर्घात । निर्वाचनको मिति नजिकिँदै जाँदा मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध पार्टी नेताहरूकै सक्रियता बढेको छ । स्थापितलाई अगाडि बढ्न नदिन निवर्तमान मेयर विद्यासुन्दर शाक्यदेखि संघीय सांसद रामवीर मानन्धरसम्मको सक्रियता बढेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार मानन्धरले गठबन्धनका उम्मेदवार सिर्जना सिंहसँग भेटेर आफ्नो प्रभाव क्षेत्रको मत दिलाउने बचन दिइसकेका छन् । काठमाडौंका भित्री बस्तीहरूमा प्रभाव रहेका पूर्वमेयर शाक्यले स्थापितलाई मत दिनु बेकार हुने भन्दै पार्टी पंक्तिलाई सचेत गराएका छन् । काठमाडौँमा स्थापितको तुलनामा शाक्यको सांगठानिक पकड राम्रो मानिन्छ ।
उपमेयरतर्फ नेकपा (एकीकृत समाजवादी)को तर्फबाट गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठको पक्षमा जनमत बढेको छ । ओलीका छुद्र बोली र बचनबाट दिक्क भएका मतदाता उनको पार्टी, चुनाव चिन्ह र उम्मेदवारप्रति नै विकर्षित हुने स्थिति बनेको छ । एमालेबाट आठ महिनाअघि विद्रोह गरी निर्माण भएको एकीकृत समाजवादीका उम्मेदवारहरू पूर्वएमाले मतदाताबीच लोकप्रिय छन् । यस कारण काठमाडौंमा एमालेलाई मुस्किल छ ।
पोखरामा सहज छैन एमालेलाई
यसटक एमालेले आफ्नो विरासत गुमाउने अर्को महानगर हो, पोखरा । ०७४ को निर्वाचनमा ६० हजार १ सय १८ मतका साथ मेयरमा चुनाव जितेको एमाले यसपटक ५० हजार मतदाता हुने नेपाली कांग्रेस, २३ हजार जनमतसहितको माओवादी केन्द्र, १४ हजार जनमत हुने जसपा र एमालेबाट विद्रोह गर्दा उसका ३५ प्रतिशत मतदातासहित खडा भएको एकीकृत समाजवादीको गठबन्धनलाई सामना गर्दैछ ।
गठबन्धनले खडा गरेका एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यलाई एमालेमै रहेका थुप्रै स्थानीय कार्यकर्ताले सघाइरहेका छन् ।
पोखरामा एमालेभित्रको अन्तर्विरोध चुलिँदो छ । शुरुमा मेयरको टिकट पाएका दिपक पौडेलविरुद्ध विभिन्न अफवाह फैलाइँदै मनोनयन दर्ताका दिन उनको टिकट खोसिएको थियो । यसपछि त्यहाँको एमाले पंक्ति विभाजित छ ।
उम्मेदवारका रुपमा खडा भएका कृष्ण थापाले पार्टी भित्रैका असन्तुष्ट नेता, कार्यकर्तालाई वेवास्ता गर्दै चुनाव गतिविधि अगाडि बढाइरहेका छन् । फलतः एमालेका थुप्रै कार्यकर्तालाई धनराज आचार्यको घरदैलोमा भेटिन थालेको छ । एमालेको विरासत भत्काउँदै धनराजलाई जिताउन पोखरामा गठबन्धनका नेता तथा कार्यकर्ता सक्रिय रुपमा खटिएका छन् ।
पोखरामा गठबन्धनको तर्फबाट उपमेयरमा कोपिला रानाभाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसमा लामो त्याग गरेका रानाभाटको स्थानीय छवि जितको प्रमुख आधार भएको विश्लेषण हुने गरेको छ ।
ललिपुरमा उस्तै छ अवस्था
ललितपुर महानगरमा ०७४ को निर्वाचनमा २४ हजार ६ सय ४२ मतले जितेका चिरिबाबु महर्जनसँग एमालेका हरिकृष्ण व्यञ्जनकार प्रतिस्पर्धी छन् । अघिल्लो निर्वाचनमा ३ सय २६ मतले पराजित भएका व्यञ्जनकारका निम्ति यसपटक पाँच दलीय गठबन्धन दोस्रो पराजयको कारक बन्ने सक्ने देखिन्छ ।
गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट बाबुराजा बज्राचार्य उपमेयरका उम्मेदवार छन् । त्यहाँ माओवादी केन्द्रको करिव १४ हजार मत छ । त्यसबाहेक जनमोर्चा, एकीकृत समाजवादी र जसपाको मतभारका कारण एमालेलाई ललितपुरमा पनि सहज छैन ।
यसपटक पनि भरतपुरमा हार्दै एमाले
पेचिलो प्रतिस्पर्धा चलिरहेको भरतपुर महानगरमा यसपटक एमालेसँग न लोकप्रिय उम्मेदवार छन्, न बलियो गठबन्धन नै ।
गत निर्वाचनमा ४३ हजार १ सय २७ मतका साथ चुनाव जितेका रेनु दाहालले पाँच वर्षको बीचमा कामबाट आफूलाई प्रमाणित गर्दै आर्जन गरेको मत थप २० हजार रहेको दाबी माओवादी केन्द्रको छ । ०७४ मा एमालेबाट २ सय ३ मतले मेयरमा पराजित देवीप्रसाद ज्ञवाली पराजयको डरले यसपटक उम्मेदवार नै बनेनन् ।
यसपटक भरतपुरमा माओवादीलाई जसरी पनि जिताउने विषयमा गठबन्धन एक ढिक्का छ । भरतपुरमा यसपटक माओवादी आफैले पनि भोट बढाएको छ । कांग्रेसको पनि भोट बढेको छ । कांंग्रेसको भोट १५ देखि २० हजारसम्म काटिँदा पनि रेनुले चुनाव जित्ने हिसाब छ ।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको भोटमा मात्र भरपर्नुपर्ने अवस्था पनि होइन । माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा र स्वतन्त्र भोटको अवस्था पनि राम्रै छ ।
मुख्य प्रतिस्पर्धी नेकपा एमाले यसपटक झनै कमजोर भएको छ । किनकी, एमाले विभाजन भएको छ । भरतपुर जस्तो ठूलो जनघनत्व भएको ठाउँमा एमाले विभाजन हुँदा ठूलै मत बाहिरिएको छ ।
एमाले विभाजन हुँदा एमालेका कार्यकर्ता अन्य पार्टीका गएका छैनन् । एमालेबाट बिद्रोह गर्दै बनेको नेकपा एकीकृत समाजवादीमै ति मत सुरक्षित छन् । एमालेबाट विद्रोह गरी बनेको पार्टी एकीकृत समाजवादीको मत पनि रेनुलाई नै मिल्ने छ । यी आधारमा यसपटक पनि रेनुकै जित सुनिश्चित रहेको विश्लेषण हुने गरेको हो ।
दल बदलको भरपर्दा वीरगञ्ज पनि गुमाउन सक्ने
वीरगञ्ज महानगरपालिकाका लागि एमालेले गतिलो उम्मेदवार नपाएर दल बदलमा बदनाम मानिने विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराउँदै रातारात उम्मेदवार बनाएपछि स्थानीय कार्यकर्ता असन्तुष्ट छन् ।
वीरगञ्ज महानगर त्यसै पनि एमालेको कमजोर क्षेत्र हो । अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार हुँदा १९ हजार ३ सय ९३ मतले चुनाव जितेका सरावगी यसपटक पाँचदलीय गठबन्धनको चपेटामा परेका छन् ।
अघिल्लो निर्वाचनमा उपमेयरमा जित्ने कांग्रेसकी शान्ति कार्कीको १९ हजार ६ सय ७ मतलाई आधार मान्ने हो भने पनि सरावगी पराजयको प्रतीक्षामा देखिन्छन् । त्यसमाथि गठबन्धनका अन्य दलको मत थपिनेनै छ । माओवादी केन्द्र र समाजवादीको मत थपिँदा वीरगञ्जमा गठबन्धनसँग लगभग ५५ हजार मत देखिन्छ । गठबन्धनबाट मेयरमा जसपाबाट राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम उम्मेदवार छन् ।
विराटनगरमा कांग्रेस एक्लै काफी
एमालेले हार खाइसकेको अर्को महानगरपालिका हो, विराटनगर । ०७४ कै निर्वाचमा कांग्रेसका भीम पराजुलीसँग एमालेका विनोद ढकालले १४ हजार २ सय ९० मतले पराजय व्यहोर्नु परेको थियो ।
यसपटक नेपाली कांग्रेसले त्यहाँबाट पराजुलीभन्दा बलिया उम्मेदवार नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । उपमेयरमा जसपाका अमरेन्द्र यादव उम्मेदवार छन् ।
विराटनगरमा जसपासँग १३ हजार मत सुरक्षित छ भने माओवादी केन्द्रसँग ११ हजार र एकीकृत समाजवादीसँग ८ हजार मत रहेको छ ।
एमालेले आफूसँग हुँदै नभएको १४ हजार २ सय ९० मत आर्जन गर्ने कुरा त टाढैको भयो, भएको मत पनि एकीकृत समाजवादीले विभाजनसँगै लगिसकेपछि कार्यकर्ता चिन्तित बनेका छन् ।
उपमहानगरमा पनि उस्तै अवस्था
अहिलेकै अवस्थालाई हेर्ने हो भने ६ वटै महानगरमा एमालेको अवस्था राम्रो छैन । महानगरमा मात्रै होइन, उपमहानगरतर्फ पनि एमालेका लागि उस्तै निराशाजनक अवस्था छ ।
धरानको विरासत एमालेले ०७७ सालको उपनिर्वाचनमै गुमाइसकेको छ । इटहरीमा कामभन्दा कुरा बढी गरेर एमाले जनमत विभक्त भएको छ । एमालेको विगतको २२ हजार मत पार्टी विभाजनमा क्षति भएर १३ हजारमा झरेको दावी हुँदै आएको छ । त्यसमाथि अघिल्लो निर्वाचनमा कांग्रेसले मेयरमा प्राप्त गरेको १९ हजार ९ सय ८५ मत सुरक्षित राख्दै यसपटक हेमकर्ण पौडेल उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उपमेयरका रुपमा खडा गरेको छ ।
०७४ मा १४ हजार मत रहेको बाराको जितपुर सिमरा उपमहानगरमा एमालेलाई पार्टी विभाजनले यसपटक ६ हजार मत क्षति भएको छ । त्यहाँ पाँच दलीय गठबन्धनले मेयरमा माओवादी केन्द्रका राजन पौडेल र उपमेयरमा कांग्रेसकी मेघा शाहीलाई उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेससँग ०७४ को निर्वाचनमा १२ हजार मत थियो । माओवादीको ९ हजार र एकीकृत समाजवादीको लगभग ६ हजार मतले यसपटक एमालेलाई क्षति पुर्याउने भएको छ । एमालेसँग अहिले ८ हजार मतमात्र सुरक्षित छ ।
जनकपुरमा गठबन्धनबाट पुनः मेयरका उम्मेदवार लालकिशोर साहले अघिल्लो निर्वाचनमा २१ हजार ९ सय ३ मतले जित हासिल गरेका थिए । यसपटक गठबन्धनको मतका कारण मुख्य प्रतिस्पर्धी एमालेलाई सहज छैन ।
विभाजनअघि २० हजार मत रहको एमालेसँग बुटवल उपमहानगरमा अहिले १४ हजार मतमात्र सुरक्षित रहेको अनुमान गरिन्छ । त्यहाँ गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डेय दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका छन् । उनीसँग ०७४ कै निर्वाचनमा २० हजार ८ सय ५१ मत थियो । उपमेयरमा एकीकृत समाजवादीका सावित्रा अर्याल उम्मेदवार छन् ।
एकीकृत समाजवादीले गठबन्धनबाट मेयरको उम्मेदवारी पाएको हेटौंडामा अरु दलका चुनावी गतिविधिहरू शून्यप्रायः स्थितिमा पुगेको छ । त्यहाँ एकीकृत समाजवादीका मीनाकुमारी लामा मेयरका उम्मेदवार छन् ।
अघिल्लो निर्वाचनमा उमपेयर जितेका लामाले त्यसबेला २३ हजार ४ सय ३७ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा कांग्रेसले मेयरमा २२ हजार ५ सय ९ मत ल्याएको थियो । त्यहाँ माओवादी केन्द्रसँग ११ हजार मत छ ।
तुलसीपुर उपमहानगरमा पनि एमालेलाई सहज छैन । एमालेसँग ०७४ को निर्वाचनमा मेयरका लागि प्राप्त मत २२ हजार ८ सय ५७ मध्ये १० हजार मत पार्टी विभाजनले क्षति भएको छ । त्यहाँ नेपाली कांग्रेससँग ०७४ मा १९ हजार मत थियो ।
अहिले तुलसीपुरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा एकीकृत समाजवादीका जोगबहादुर राना मगर उम्मेदवार छन् । एमालेबाट मेयरका उम्मेदवार नरुलाल चौधरीविरुद्ध हालै भ्रष्टार आरोपमा अख्तियारमा उजुरी परेको छ ।











