काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दुनियाँ कहीँ नहुने गठबन्धन नेपालमा भएको टिप्पणी गरेका छन् । आज सुरु भएको संसद बैठकमा बोल्दै उनले दुनियाँमा कहीँ नहुने सत्ता पक्षले प्रतिपक्षीविरुद्ध गठबन्धन गरेको बताए ।

उनले भने, ‘यो चौतर्फी घेराबन्दी, दुनियाँमा कहीँ नहुने सत्ता पक्षले प्रतिपक्षीविरुद्ध गरेको छ । यस्तो गठबन्धनलाई चिरेर हामीले जे परिणाम प्राप्त गरेका छौँ, त्यसमा कुनै गुनासो छैन ।’
उनले मत गणनामा समेत एमालेका मतदान प्रतिनिधिहरुलाई धम्क्याउने काम भएको बताए । उनले भने, ‘सिडियो गएर हाम्रा मतदान प्रतिनिधिहरुलाई धम्क्याउने काम भए, सुरक्षाकर्मीहरु गएर धम्क्याउने काम भयो । राज्यसत्ताको दुरुपमयो भयो ।’
एमालेले संसदको अवरोध खोलेको घोषणा पनि गरको छ । देशको अर्थतन्त्रमा उत्पन्न संकटबारे गम्भीर छलफल गर्न संसद खोल्नु जरुरी भएको उनको भनाइ छ । ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यू निद्राबाट ब्यूँझिनुस् । देशको स्थिति धेरै भयावह भइरहेको छ ।’














