
काठमाडाैं । गोपाल हमालले २०७४ सालकाे स्थानीय निर्वाचनदेखि नै भन्दै आएका थिए, ‘देशमा जनताको सेवा गर्ने राजनीति चाहिएको छ । पेसेवर होइन । जबसम्म पेसेवर राजनीति रहिरहन्छ, कुनै परिवर्तन हुनेवाला छैन । परिवर्तनको सुरुवात म सुदूरपश्चिमबाट गर्दैछु ।’
ठ्याक्कै त्यस्तै भएको छ । सुदुरपश्चिमको एकमात्रै उपमहानगर धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल विजयी भएका छन् । दलीय व्यवस्थामा पनि एउटा नागरिकले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्न सक्छ भन्ने पुष्टि गरेका छन् । हमालले कांग्रेसका नृपबहादुर वडलाई दोब्बर बढी मतान्तरले पराजित गर्न सफल भएका छन् । उनले २६ हजार ४ सय ४३ र वडले १४ हजार १ सय ४६ मत पाए। अघिल्लो निर्वाचतमा हमाल वडसँग झिनो मतले पराजित भएका थिए ।
को हुन् हमाल ?
२०२० सालमा कैलालीको झन्झटपुरमा जन्मेका हमालले धनगढी स्थित त्रिनगर माविबाट विद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे । प्रमाणपत्र तहको अध्ययन गरेका हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन् । हमालले करिब ३ दशकदेखि धनगढी र सुदूरपश्चिममा थुप्रै सामाजिक कामको नेतृत्व गरेका छन् ।
०४२ सालमा धनगढीमा ब्लड बैंक स्थापनाका लागि स्वरसम्राट नारायण गोपाल, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठहरूको एकल साँझ भएको थियो, त्यसको नेतृत्व हमालले गरेका थिए । कहिले ‘सुन्दर सुदूरपश्चिम’ त कहिले ‘गन्तव्य सुदूरपश्चिम’ भन्दै प्रदेशलाई चिनाउने अभियान चलाए । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हमालले देशकै सर्वोत्कृष्ट शाखाको पुरस्कार पाए । त्यसपछि हमालकै नेतृत्वमा धनगढी विमानस्थल कालोपत्र गर्न ‘एक रुपैयाँ’ अभियान चलेको थियो ।
त्यस्तै उनले केही समयअघि निःशुल्क शव वाहन सुरु गरेका थिए । त्यसले पनि उनलाई गाउँ गाउँसम्म परिचित गरायो । कपडा बैंक खोलेर धेरै हुनेहरूले दिने र नभएकाले लिने व्यवस्था मिलाए । धनगढीमा मात्रै उनले सयौंलाई रोजगारी दिएका छन् । हमालले यस्ता थुप्रै सफल र लोकप्रिय अभियानको तेतृत्व गरेका छन् । सामाजिक क्षेत्रको त्यही लोकप्रियतालाई उनले स्थानीय चुनावमा उपयोग गर्न सफल भएका छन् ।
अघिल्लो निर्वाचनमा २ हजार ७ सय मतले पराजित भएपछि उनी विवेकशील साझा पार्टीमा लागेका थिए । सो पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक पनि भए । तर, साझा पनि छिन्नभिन्न भएपछि स्वतन्त्र बस्नेभन्दै राजीनामा दिए । त्यसपछि स्वतन्त्र उममेदवार बनेका थिए । मेयरमा निर्वाचित भए राज्यबाट १ रुपैयाँ पनि नलिने उपमहानगरको गाडी पनि नचढ्ने उनले यसअघि नै घोषणा गरिसकेका छन् ।
पाइने सेवा सुविधासमेत नलिने उनले घोषणा गरिसकेका छन् । स्थानीय सरकारको नेतृत्वले जनताभन्दा पार्टी, गुट, कार्यकर्ता प्राथमिकतामा राखेकाले भ्रष्टाचार बढेको उनको भनाइ छ । ‘मेरो कुनै पार्टी छैन, गुट छैन, कसैलाई भरणपोषण गर्नुपर्ने छैन । मेरो पहिलो प्राथमिकता जनताको काम हो, धनगढीको विकास हो,’ हमालले चुनाव प्रचारका क्रममा भन्ने गरेका थिए, ‘म कार्यकर्तालाई पाल्ने होइन, आफैँले पाउने सेवा सुविधासमेत जनताको सेवामा खर्च गर्छु भनेर संकल्प गरेको छु । भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी बनाउनुपर्छ । यहाँ बाटो बनाउने, ठूलो सहर बनाउने कुरा मुख्य होइन, सबैभन्दा पहिले भ्रष्टाचार अन्त्य गर्नुपर्छ, जुन ममात्रै गर्न सक्छु ।’
हिजो बाहिर रहेर नेता र नेतृत्वलाई प्रश्न गर्ने हमाल अब प्रश्न सुन्ने र काम गर्ने ठाउँमा पुगेका छन् । प्रदेशको राजधानी रहेको धनगढी शैक्षिक, औद्योगिक, व्यवासायिक केन्द्र हो । प्रधानमन्त्री सेरबहादुर देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्र पनि यही हो । त्यसैले यो क्षेत्र कांग्रेसको गढका रुपमा चिनिन्छ । यो हारलाई कांग्रेसले प्रतिष्ठाका रुपमा लिएको छ ।











