Logo
Logo

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ : रामचन्द्र पौडेल


504
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

फाइल फोटो

व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने बताउँदै उनले भने, ‘जनप्रतिनिधिका काँधमा ठूलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।’

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिए । प्रत्येक वडामा पाँच ठूला आयोजनाको सूची तयार गर्न आग्रह गर्दै उनले त्यसका लागि सङ्घीय सरकारबाट बजेटको व्यवस्था गरिने बताए ।

भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताए । उनले सबैलाई समान ढङ्गले हेर्ने उल्लेख गदै विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने बताए ।

–––

प्रतिक्रिया दिनुहोस्