
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन अगाडि कसैसँग गठबन्धन नगर्ने, एक्लै लड्ने बताए । पाँचदलीय गठबन्धनलाई ‘एक–एक किलोको ढक’ भनेर व्यंग्य गरे । उनको भनाई थियो– ‘गठबन्धन ढक हो । एमाले क्वीन्टल हो ।’
तर, २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले त्यसो भनेन । पराजयले एमाले रक्षात्मक अवस्थामा पुग्दा एमाले ‘ढक’ भयो, गठबन्धन ‘क्वीन्टल’ ।
स्थानीय तह निर्वाचनको परिणामले एमाले कार्यकर्तामा निराशा छाएको छ । सँगै, एमाले नेतृत्वबाट दुई फण्डा खपतमा ल्याइएको छ । एक, एकीकृत समाजवादीसँग पार्टी एकता हुँदैछ । दुई, एमालेले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्यो !
तर, कार्यकर्ता पंक्तिमा पराजपछि छाएको व्यापक निराशा एमाले नेताले निकालेका फण्डाले थेग्न सक्ने देखिन्न । एमालेका सचेत नेता कार्यकर्ताले नै ‘पराजयका कारण अध्यक्ष ओली’ भन्न थालेका छन् ।
मतगणना करिव–करिव अन्तिम चरणमा पुगेको छ । ०७४ मा देशका २ महानगर, ७ उपमहानगरसहित २ सय ९४ स्थानीय तह जित्ने त्यही एमाले अहिलेसम्म मुस्किलले २ सय स्थानीय तहमा जितेर थन्किएको छ ।
महानगर शून्य र हालसम्म २ उपमहानगर जितेको छ । गठबन्धन दल नेपाली कांग्रेस हालसम्म २ महानगर, ३ उपमहानगरसहित ३ सय २० तहमा जित्न सफल भएको छ ।
एमालेलाई क्षति पुर्याउने एकीकृत समाजवादीले १ महानगरमा जितको औपचारिक घोषणा हुन बाँकी छ भने १ उपमहानगरसहित १८ तहमा निर्वाचित भइसकेको छ ।
एमालेसँगको एकताबाट अलग भएको माओवादी केन्द्रले हालसम्म १ सय २० तहमा जित हाँसिल गरेर २ तहमा अग्रता लिएको छ । २२ वटा स्थानीय तहको नतिजा आउनुअघिको मत परिणाम अध्ययन गर्दा एकीकृत समाजवादीका कारण एमालेलाई पुगेको क्षतिले उसले करिव सय वटा स्थानीय तह गुमाएको छ ।
यदि, ०७५ जेठ ३ मा माओवादीसँग गरेको एकतालाई कायम राख्न सकेको भए कम्युनिष्ट शक्तिको हातमा यतिबेला माओवादीको १ सय २०, समाजवादीको २० (दुई स्वतन्त्र) सहित ३ सय ४० स्थानीय तह हुन्थ्यो ।
अन्तिम मत परिणामसम्म पुग्दा कम्युनिष्ट शक्ति ३ सय ८० सम्मको स्थानीय तहमा निर्वाचित हुँदै देशको सबभन्दा ठूलो दल हुन्थ्यो । त्यसअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा एक्लै दुई तिहाई परिणामको हकदार हुने थियो । तर, केपी शर्मा ओलीको घमण्डका कारण एमाले धेरै पछाडि धकेलिएको छ ।
पराजयको अन्तरिक कारण
एमालेलाई यो निर्वाचनमा क्षति पुग्नुको दुई आन्तरिक कारण छन् । पहिलो-टिकट वितरण न्यायोचित नहुनु । केपी ओलीलाई मन परेका व्यक्तिले मात्रै टिकट पाएका कारण देशभरमा २५ स्थानीय तहमा पराजय व्यहोर्नुपरेको एमाले नेताहरूको ठहर छ । एक नेता भन्छन्, ‘केन्द्रबाट आफूखुशी टिकट दिएपछि स्थानीय कार्यकर्ता निराश भए, चुनावमा हिँडेनन् ।’
दोस्रो- पार्टी विभाजन । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका कारण एमालेले देशभरिमा १२ देखि १५ लाखसम्म मतदाता गुमाएको छ ।
पार्टी निर्माण, निर्वाचनको परिचालन र व्यवस्थापनमा सामूहिक पहलकदमीलाई कम्युनिष्ट कार्यशैली भनिन्छ । यसपटकको निर्वाचनमा एमालेले त्यस्तो विधि अबलम्बन गरेन । बालकोटबाट ज–जसका नाममा, जेजस्ता हुकुम फर्माइयो, त्यही कुरा मानेर चुनावमा जाने मनस्थितिले कार्यकर्ता पंक्तिमा निराशा पैदा गर्याे । उम्मेदवार चयनमा कार्यकर्ताको स्वामित्व स्थापित भएन ।
आर्थिक पारदर्शिता र परिचालनका विषयहरूलाई निश्चित घेरामा सीमित राखियो । पार्टीभित्र विकास भएका नयाँ–नयाँ गुटका प्रतिद्वन्द्व पनि यही निर्वाचनका क्रममा उजागर भयो । जस्तो कि, बुटवलमा विष्णु पौडेल र शंकर पोखरेलको गुटले चुनावलाई प्रतिष्ठाको विषय बनाउँदा मेयर गुमायो । पोखरामा पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको गुटले एमालेमा ठूलै धाँजा फाट्यो ।
काठमाडौंमा केशव स्थापितविरुद्ध विद्यासुन्दर शाक्यदेखि रामवीर मानन्धरसम्मको गतिविधिले एमाले मतदाताहरू बालेन साहको पक्षमा उभिए । एमालेको सरकार हुँदाको समयमा भएका नकारात्मक कामबारे गरिएका प्रचार चिर्ने संयन्त्र चलायमान भएन । फलतः पार्टीले स्थानीय तह निर्वाचनमा मार खाएको एमालेका नेताहरू बताउँछन् ।
गठबन्धनलाई क्षति
एमाले पराजयसँग गठबन्धनका कारण उत्पन्न क्षति पनि जोडिन्छ । तर, मुख्य कारण भने उसकै विभाजन हो । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन निक्कै प्रभावशाली हुने अनुमान गरिए पनि व्यवहारतः गठबन्धन अपेक्षाकृत सफल हुन नसकेको एकीकृत समाजवादीको ठम्याइ रहेको छ ।
गठबन्धनको फाइदा कांग्रेस र माओवादीले मात्रै लिने गरी उम्मेदवारी तय गरिँदा एमाले समाप्त हुने कतिपय ठाउँमा उसले आफ्नो विरासत जोगाउन सफल भएको एकीकृत समाजवादीको निष्कर्ष रह्यो ।
एमालेलाई क्षति पुर्याउनका निम्ति एकीकृत समाजवादीलाई दिइनुपर्ने उम्मेदवारी दिनमा कञ्जुस्याइँ गरियो । विगतमा एमालेले जितेका र अहिले पनि वाम वर्चस्व भएका स्थानीय तहमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीलाई उम्मेदवारी नदिइँदा कलैया, घोराहीजस्ता उपमहानगरमा फेरि पनि एमाले आउने स्थिति बनेको एकीकृत समाजवादी पक्षको धारणा छ ।
कांग्रेस र माओवादीले गठबन्धन गर्ने, एकीकृत समाजवादीलाई बाहिर राख्ने कुराले अर्को समस्या खडा गर्यो । फलतः एमालेलाई जति क्षति हुनुपथ्र्यो, त्यस्तो हुन सकेन । महानगर र उपमहानगरका हकमा केन्द्रबाट निर्णय गरी मेयर र उपमेयरका उम्मेदवार बनाइयो । तर, वडासम्मका कुरा नमिलाइँदा गठबन्धनभित्रको अन्तर्विरोधको फाइदा एमालेले उठायो ।
फलस्वरुप एमालेले आफ्ना केही पुराना ठाउँहरू जोगाएको छ । एकीकृत समाजवादीमाथि कांग्रेस र माओवादी नेतृत्वको हेपाहा प्रवृत्तिका कारण अपमानबोध गरेका समाजवादी पक्षीय मतदाताले कतिपय स्थानीय तहमा अन्तिम अवस्थामा एमालेलाई मतदान गरेको एकीकृत समाजवादीले विश्लेषण गरेको छ ।
एमालेसँग एकताको सम्भावना नै छैन : नेपाल
निर्वाचनको कारण एमालेलाई पुगेको क्षतिपछि कार्यकर्तामा छाएको निराशालाई चिर्न एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीसँग एकता हुने हल्ला देशव्यापी रुपमा फिँज्याएका छन् । तर, एकता हुने कुरा केवल हल्लामात्रै भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दृष्टिलाई बताएका छन् ।
सोमबार बिहान वीरगञ्ज पुगेका अध्यक्ष नेपालले दृष्टिसँगको फोन सम्पर्कमा भने, ‘नयाँ पार्टीको निर्माण र पाँचदलीय गठबन्धनका उद्देश्यहरू पूरा हुन बाँकी छन् । त्यसैले एकताको कुरा हल्ला मात्रै हो ।’
तर, एमालेका नेताहरूले आफ्ना कार्यकर्तासँग समाजवादीसँग एकताका लागि कुरा शुरु भइसकेको र छिट्टै सकारात्मक परिणाम आउने भनेर प्रचार गरिएको विषयमा अध्यक्ष नेपाललाई सोधिएको प्रश्नमा नेपालले भने, ‘अब एमालेभित्र रहेका योग्य र इमान्दार नेता–कार्यकर्ताले सही विचार, सही बाटो र सही निर्णय लिने बेला भएको छ । उहाँहरू एकता चाहनुहुन्छ भने हाम्रो पार्टीमा स्वागत छ, तर केपी ओलीसँग हामीले एकता गर्ने प्रश्नै छैन । यसमा कसैले भ्रम नपाले हुन्छ ।’
अध्यक्षले नेपालले स्थानीय तह निर्वाचनमा गरिएको गठबन्धनका थुप्रै त्रुटि, कमजोरीमाथि पार्टीभित्र समीक्षा हुने बताउँदै गठबन्धनका साझेदार दलबीच पनि राम्रैसँग कुरा हुने बताए । ‘जति र जस्तो गठबन्धनको हामीले कल्पना गरेका थियौँ, विभिन्न कारणले त्यस्तो हुन सकेन । जस्तो परिणाम आउनुपर्ने थियो, त्यस्तो परिणाम पनि आउन सकेन । तर, गठबन्धन नै तोड्नुपर्ने र अर्कोखाले भूमिकामा जानुपर्ने अवस्था पनि आएको छैन ।’
अध्यक्ष नेपालले आगामी निर्वाचनमा यही गठबन्धनलाई अझ मजबुत बनाउँदै, अहिलेका कमजोरीबाट शिक्षा लिँदै अगाडि बढ्न सकिने बताए ।
नेपालले दृष्टिसँग भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको रक्षा र मुलुकको प्रगतिशील रुपान्तरण हो । त्यसको बाधक शक्तिलाई परास्त नगरी यो गठबन्धनको कार्यभार पूरा हुने छैन । त्यसैले अहिले जति एकता र सहकार्य हुन्छ, त्यो पाँच दलभित्र मात्रै हुन्छ, त्यसबाहेकका कुराहरू सबै भ्रम हुन्, हल्लाबाजी मात्रै हुन् ।’











