काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सरकारले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी छुटाएको बताएका छन् ।

शनिबार संसदमा प्रि–बजेटबारे छलफलमा बोल्दै उनले प्रश्न गरे, ‘नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेख र कालापानी खै ?’ उनले सरकारले ती तीन स्थानको विषय छुटाएकाले त्यसमा खुट्टा नकमाउन सरकारलाई अनुरोध गरेका छन् । उनले नीति तथा कार्यक्रममा अन्तरमन्त्रालय समन्वय कसरी गर्ने भन्ने विषयमा समेत उल्लेख नभएको बताए ।
साथै, कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने, माटो परीक्षण गर्ने, सिञ्चाई सुविधा विस्तार गर्ने, उत्पादन बढाउने दशकव्यापी अभियान र स्वास्थ्य क्षेत्रमा लिइएको नीति उपयुक्त भएको उनको भनाइ छ ।
नेपाल आयल निगमको एकाधिकार र चुहावट घटाउन समयमै सचेत बन्नुपर्ने बताउँदै उनले अत्याधिक खर्च घटाउने र पेट्रोलियम पदार्थको खपत घटाउनतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने पोखरेलले उनले सुझाव दिए ।














