Logo
Logo

जनप्रतिनिधिको काममा पार्टीको अनुहार देखिनुपर्छ : अनन्त



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताए ।

विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि खोजेन र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको बताउँदै अब त्यसो नहुने उनको भनाइ रहेको थियो ।

पुनले भने– ‘अब त्यस्तो हुँदैन, विगतका अनुभवका आधारमा त्यसको समीक्षा गर्दै नयाँ योजना र नीतिका साथ पार्टीले तयार गरेको नीति र कार्यदिशाका आधारमा काम गर्ने वातावरण बनाउन आवश्यक छ ।

कार्यशैलीमा भएका कमी–कमजोरी केलाएर त्यसको समीक्षा गर्दै राम्रो कामलाई जनतामाझ पुर्याउने र नराम्रो गरेको खण्डमा सुधार गर्दै अगाडि बढ्नका लागि पार्टीले दिशानिर्देश उनको भनाइ रहेको छ ।

सो अवसरमा उनले जनताको सहभागितामा शासन सञ्चालन गर्ने गरी सङ्घीयताको डिजाइन गरेका कारण मौलिक अधिकारसहितको सङ्घीयता भएको स्थानीय सरकारको जिम्मेवारी पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै जनप्रतिनिधिले पार्टीको विचार, नीति, कार्यशैली र राजनीतिअनुसार काम गर्छ कि गर्दैन भन्ने परीक्षाको विषय भएको बताए ।

विगतमा विजयी भएका जनप्रतिनिधिले हारेको ठाउँमा त्यसको जवाफ दिनुपर्ने बताउँदै नेता पुनले सरकारमा हुँदा हार्ने र बाहिर हुँदा जित्ने कसरी भइरहेको छ भन्ने विषयको समेत कारण खोजी गरिने उनको भनाइ छ ।

सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यसपटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्