
काठमाडौं । बागमती प्रदेश सरकारको सोमबार प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुँदैछ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रदेश संसद् सचिवालयका अनुसार आजको छलफल सकिएपछि भोलि बुधबार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ । त्यसपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।
नीति तथा कार्यक्रममा माध्यमिक विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बनाउने, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने, एक वडा एक पशु कार्यालय खोल्ने विषय समेटिएको छ ।
नीति तथा कार्यक्रममा विद्युतीय सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्ने, स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने, सार्वजनिक सवारी साधनको विद्युतीय सेवाका माध्यमबाट भाडाको व्यवस्थापन गर्ने, सडक निर्माण तथा विस्तारको कामलाई निरन्तरता दिने र यातायात क्षेत्रको व्यवस्थापनका लागि ट्राफिकसँग समन्वय गर्ने, प्रदेशस्तरीय खेलकूदको आयोजना गरिने उल्लेख छ ।
यस्तै, श्रम तथा रोजगारीको व्यवस्था, कृषिको विकास, कृषिको क्षतिपूर्तिलगायत मलखाद्यको व्यस्थापन, उद्योग कलकारखानाको विकास, संरक्षण र लगानीका विषय कार्यक्रम समेटिएको छ ।











