काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले एमसीसी पास गर्ने क्रममा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे अमेरिकाले एक शब्द नबोलेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि मंगलबारदेखि राष्ट्रिय सभामा सुरु भएको छलफलमा भाग लिँदै श्रेष्ठले लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएकोमा प्रश्न गरेका छन् ।
उक्त योजना एमसीसी योजनाअन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा अर्थमन्त्रीले आफैंले प्रस्ताव राखेका हुन् भन्नेबारे उनले सरकारसँग जवाफ मागे । ए । नेता श्रेष्ठले एमसीसी परियोजनाअन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनले भने- ‘लप्सीफेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रसारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने भनिएको छ, यो पहिला भनेजस्तै एमसीसीको योजना हो कि, आफैंले बनाउने भनेको हो ? त्यो प्रष्ट भएन । संसद्बाट एमसीसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा पारित गरिएको थियो । साथै ठूला नेताहरुले १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति जनाएन भने त्यही दिन यो खारेज हुन्छ भन्नु भएको थियो । अमेरिकाले अहिलेसम्म १२ बुँदे व्याख्यात्मक घोषणाबारे एक शब्द बोलेको छैन । त्यसकारण यो एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले यसरी आफैंले गर्ने प्रस्ताव राख्नुभएको हो भने मेरो व्यक्तिगत तर्फबाट अर्थमन्त्री र सरकारलाई धन्यवाद छ । तर यो के हो प्रस्ट हुनुपर्छ ।’














