
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सम्भव भएसम्म संसदीय छलफलबाटै कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारले अध्यादेश ल्याउन सक्ने भए पनि सम्भव भएसम्म जनताको सर्वोच्च थलो संसद्बाट पर्याप्त छलफल गरी कानुन निर्माण गर्न उपयुक्त हुने उनले धारणा व्यक्त गरे ।
‘संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउने कुरालाई अन्यथा मान्नु हुँदैन । आवश्यकताका आधारमा राज्यले गर्ने निर्णयलाई सम्मान गर्नुपर्छ’, उनले भने, ‘तर सदन चलाउन हामी तयार छौँ । सम्भव भएसम्म धेरैभन्दा धेरै छलफल सदनमै गरेर कानुन निर्माण गर्दा राज्यका सबै निकाय र नागरिकका लागि उपयुक्त हुन्छ ।’
कानुन निर्माणअघि धेरैभन्दा धेरै सरोकारवालाबीच बहस र छलफल हुनुपर्ने उनको भनाइ छ । संसद्मा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्र र जनताका विषय उठाउन पाउने तथा छलफलबाट बनेको कानुन बढी प्रभावकारी हुने उनले बताए । सरकारले कतिपय महत्त्वपूर्ण विषयका कानुन अध्यादेशमार्फत ल्याउन लागेको भन्ने चर्चाका बीच सभामुख अर्यालको सोे भनाइ आएको हो ।















