
काठमाडौं । विद्युतीय यातायातका साधनको प्रयोग बढाउँदै इन्धन प्रयोग घटनउनुपर्ने बेलामा बजेटमार्फत अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय यतायातका साधन आयातमा कर वृद्धि गरेका छन् ।
बजेटमार्फत अर्थमन्त्री शार्मले विद्युतीय साधन आयातमा कर वद्धि गरेपछि अर्थमन्त्री शर्मा आर्थिक प्रलोभवनमा परेको आरोप लागिरहेको छ । बारम्बार इन्धनको मूल्यवृद्धि खेपिरहेका आम नागरिकले समेत कतै आर्थिक चलखेलका आधारमा विद्युतीय साधन आयातमा कर बढाइएको त होइन ? भन्दै प्रश्न गर्न थालेका छन् ।
बजेटमार्फत अर्थमन्त्री शर्माले कर वृद्धि गरेसँगै सय किलोवाट क्षमताभन्दा माथिका विद्युतीय यातायातका साधनको मूल्यमा प्रतिगोटा ८ लाख रुपैयाँसम्म वृद्धि हुने भएको छ ।
प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलका क्रममा पनि अधिकांश सांसदले विद्युतीय साधन आयातमा गरिएको मूल्यवृद्धिलाई संशयका साथ हेरिएको बताएका छन् । अधिकांश सांसदले इन्धनमा हरेक महिनाजसो मूल्यवृद्धि हुँदै आएको बेला विद्युतीय साधनको प्रयोग बढाउनुपर्नेमा किन कर बढाइयो ? यसमा कतै आर्थिक चलखेल त भएको छैन ? भन्दै प्रश्न गरेका छन् ।
विगतमा सरकारले नै विद्युतीय साधनको प्रयोग बढाउने नीति अवलम्बन गरेपछि उत्साहीत भएका व्यवसायी समेत यसपटक बजेटमार्फत सरकारले अवलम्बन गरेको नीतिबाट निरुत्साहित भएका छन् । उनीहरुले पनि आर्थिक चलखेलकै कारण विद्युतीय साधन आयात रोक्ने नीति अवलम्बन गरिएको आशंका व्यक्त गरेका छन् ।
नेपालमा विद्युतीय साधनको बिक्री वितरण गर्दै आएका एक व्यवसायी भन्छन्– ‘हामीलाई विगतमा सरकारले नै विद्युतीय साधन बिक्री वितरणका लागि प्रोत्साहीत गरेको थियो । तर, यसपटक बजेटमार्फत हामीलाई मारमा पार्ने काम भएको छ ।’
ति व्यवसायीले अर्थमन्त्रीले आर्थिक चलखेलका आधारमा विद्युतीय साधन आयातमा कर वृद्धि गरेको समेत सुनेको बताएका छन् ।
उनले भने– ‘इन्धनबाट चल्ने यातायातका साधन बिक्री वितरण गर्दै आएका व्यापारीसँगको मिलेमतोमा सरकारले विद्युतीय साधन आयातमा कर वृद्धि गरेको सुनिएको छ । यदि, हामीले सुनेको कुरा सत्य हो भने सरकारले ठीक गरेको छैन ।’
बजेट अगाडिको चलखेल
सरकारले बजेटको तयारी गर्दै गर्दा टाटा लगायतका केही कम्पनीले सय किलोवाटभन्दा कम क्षमताका धेरै विद्युतीय गाडी भित्र्याएका छन् ।
सरकारले बजेटमार्फत सय किलोवाटभन्दा धेरै क्षमताका विद्युतीय साधन आयातमा कर वृद्धि गर्ने सूचना चुहावट भएका कारण ति कम्पनीले अस्वभाविक रुपमा सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय साधन भित्र्याएको आरोप लाग्ने गरेको छ ।
अर्थमन्त्रीको अपत्यारिलो स्पष्टीकरण
अर्थमन्त्री जनार्दन शर्माले भने विद्युतीय साधन आयातमा कर वृद्धिबारे अपत्यारिलो स्पष्टीकरण दिएका छन् ।
बजेटमाथि छलफलका क्रममा अधिकांश सांसदले विद्युतीय साधनमा कर वृद्धि गर्नुको कारण सोधेपछि स्पष्टीकरण दिने क्रममा अर्थमन्त्री शर्माले भने– ‘अहिले ६० लाख पर्ने विद्युतीय गाडी ६८ लाख रुपैयाँ पर्छ । पेट्रोलियम गाडीभन्दा बढी डलर विद्युतीयमा बाहिर जाने भएकाले थोरै बढाएका छौँ ।’
अर्थमन्त्री शर्माले अर्को पनि अपत्यारिलो स्ष्पटीकरण नै दिएका छन् । उनले भने– ‘सय किलोवाटभन्दा बढीका गाडी हुने खाने वा सरकारले नै खरिद गर्ने भएकाले सर्वसाधारणलाई अप्ठ्यारो पर्दैन ।
त्यति मात्र होइन, कुनै स्वार्थ, नियत छ कि भन्ने प्रश्न अभएको भन्दै उनले भने– ‘प्रश्न गर्न त सकिन्छ तर राजस्वको अवस्था, डलरको अवस्थालाई आधार बनाएर कर वृद्धि गरिएको’ समेत भने ।











