Logo
Logo

एक्लै चुनाव लडेको भए यो भन्दा धेरै जित्थ्यौं : झलनाथ खनाल


6.7k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका कारण धेरै स्थानीय तह गुमाउनु परेको बताएका छन् ।

देशभर गठबन्धन गरिएता पनि गठबन्धनमा आवद्ध अन्य दल इमानदार नहुँदा धेरै ठाउँ गुमाउने परेको खनालको भनाइ रहेको छ ।

दृष्टिसँगको अन्तर्वार्ताका क्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले भनेका छन्– ‘सोचेअनुसार तालमेल नहुँदा पनि हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो मूल्यवान कुरा नै हो । तर, हामी एकल ढंगले निर्वाचनमा अगाडि बढेको भए, अहिलेको भन्दा धेरै ठाउँमा उपलब्धि प्राप्त गर्न सक्थ्यौँ ।’

स्थानीय तह निर्वाचनमा गठबन्धनका गर्दा देशभर उम्मेदवार उठाउन नपाएका कारण पार्टीले जनमत सुरक्षित गर्न नसकेको समेत खनालको विश्लेषण रहेको छ ।

उनले भने– ‘गठबन्धन नभएको भए पनि हामीले राष्ट्रव्यापी रुपमा आफ्ना उम्मेदवारहरू खडा गर्न सकेको भए, हाम्रो पार्टीले ठूलो जनमतको प्रतिनिधित्व गर्ने थियो । हामीले धेरैजसो ठाउँमा उम्मेदवार नै उठाउन नपाएको कारण हाम्रो मतलाई सुरक्षित मात्र गर्न पनि सकिएन ।’

महानगर र उपमहानगरमा तालमेल सफल भएतापनि नगरपालिका र गाउँपालिकामा तालमेल नै हुन नसकेको उनको गुनासो रहेको छ । खनालले भने– ‘खासगरी महानगरपालिका र उपमहानगरपालिकामा भएको तालमेल मुलतः ठिकै देखियो । तर, नगरपालिका र गाउँपालिकामा खासै तालमेल भएन । यसप्रति हामी सन्तुष्ट छैनौ ।’

एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गरिसकेको छैन । आइतबार बसेको सचिवालय समिति बैठकले तल्लो तहबाटै समीक्षा गर्नका लागि प्रत्येक प्रदेशमा एक–एक जना शीर्ष नेता खटाएको छ ।

प्रतिक्रिया दिनुहोस्