Logo
Logo

सरकारको गैरकानुनी कदमले हद नाघ्योः गगन थापा


441
Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाएका छन् ।
पार्टी कार्यलय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताए ।

प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उनको भनाई छ । काँग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय संकटका बेला सरकारसँगै उभिने गरेपनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने बताए ।

समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको उनको भनाई छ । उनले नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरु छुटेपनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सिमित गर्न नहुने बताए ।

यसले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको सभापति थापाको भनाइ थियो । उनले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे । सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिप्रति नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई सचेत हुन उनले आग्रह पनि गरे ।

उनले सरकारको अधिकारको प्रयोग कानुनी सीमाभित्र हुनुपर्नेमा जोड दिए । काँग्रेसले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा सरकारलाई निरन्तर प्रश्न गर्ने तथा आवश्यक परे प्रतिरोधसमेत गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्