Logo
Logo

घनश्यामलाई कारबाही गर्ने ओलीको तयारी



राजनीतिक पार्टीको चरित्र गुमाएर स्वार्थ समूहमा रुपान्तरिक हुँदै गएको नेकपा (एमाले)मा स्थानीय तह निर्वाचनमा पराजय भएपछि छटपटी सुरु भएको छ ।

अघिल्लो पटक जितेका झण्डै १ सय पालिका यसपटक गुमाएपछि कार्यकर्तामा निराशा छाएको छ भने नेतृत्वमा अविश्वासको पहाड चुलिएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि कार्यकर्तालाई दोष दिएर पन्छिन खोजेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा थप क्षति हुने देखिएपछि केन्द्रीय नेताहरूकै अन्तर्घातका कारण हार्नुपरेको निष्कर्षमा पुगेका छन् ।

पराजयको कारण खोज्न संस्थागत ढंगले विचारविमर्श गर्नुपर्नेमा सत्य कुरा बोलेकै कारण कारबाही भोग्नुपर्ने अवस्थामा एमाले नेता पुगेका छन् ।

एमाले सुत्रका अनुसार पार्टी अध्यक्ष ओलीले सबै जिल्लाबाट सात सय ५३ वटै पालिकाको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन मागेका छन् । उनले अन्तर्घातमा मुछिएका नेताहरूलाई कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

विशेषगरि, १० बुँदे पक्षधर नेता तथा कार्यकर्ताले अन्तर्घात गरेको बालकोटको बुझाइ रहेको रहेको छ ।

सोही बुझाईका आधारमा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस गरेको छ । उक्त आयोगमा काभ्रेका पुराना नेता केशब बडाल अध्यक्ष छन् ।

बडाललाई ओलीले नवौँ महाधिवेशनबाटै आयोगमा ल्याउन चाहेपनि अमृतकुमार बोहोराले हराइदिएका थिए । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट ओलीले अन्य नेतालाई जस्तै बडाललाई पनि चिट बाँडेर आयोगको अध्यक्ष बनाएका थिए ।

एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा राखेको विचारका आधारमा भुसालमाथि कारबाही गर्न बडालले सिफारिस गरेका हुन् । भुसालले १०औँ महाधिवेशनलाई ‘सौराह काण्ड’ भनेको, अन्तर्घाती पत्ता लगाउने नाममा एमालेमा ‘कोत पर्व’ हुने र त्यसका लागि जंगबहादुरको खोजी भइरहेको र आफू कानुनी रूपमा मात्र एमाले भएको टिप्पणी गरेकाले अनुशासनको कारबाही गरिने एक नेताले बताए ।

आयोगले स्पष्टीकरणको सिफारिस पार्टी अध्यक्ष ओलीलाई बुझाइसकेको छ । अब बस्ने सचिवालयले यसको टुंगो लगाएर केन्द्रीय कमिटीबाट अनुमोदन गराउने तयारी रहेको छ ।

भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै आएका छन् । उनले हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा पनि ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए ।

भुसाल एमालेभित्र ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन् । उनले २०७९ सालको निर्वाचनपछि ओलीको नेतृत्वमाथि प्रश्न उठेको सार्वजनिक अभिव्यक्तिसमेत दिएका छन् । २०६४ सालको निर्वाचन पराजयपछि नैतिकताका आधारमा तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले राजीनामा दिएको प्रसंगसमेत भुसालले उठाउने गरेका छन् ।

चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा भीम रावल र घनश्याम भुसाल सबभन्दा धेरै आक्रोशित बनेका थिए । रावल र भुसालकै असहमतिका कारण ओलीले नचाहे पनि केही पदहरूमा चुनाव भएको थियो ।

रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए । ओलीले त्यो बेला पनि रावल, भुसाल सहितका नेताहरूलाई मत नदिन उर्दी नै जारी गरेका थिए ।

के भनेका थिए भुसालले ?
नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा  । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे । आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ।

म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने ।

जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने– कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड प्रसेन्ट (शतप्रतिशत) देखिएको छ । यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ ।

ओलीलाई आफ्नै नेताको डर
गत बिहीबार केन्द्रीय पदाधिकारी, केन्द्रीय तहका केही नेता र २२ जनसंगठनका नेता सहभागी मोर्चा संगठनको बैठकमा ओलीले एमालेलाई आफ्नैै नेताबाट बचाउन चुनौती रहेको र सोही कारण निर्वाचनमा हार ब्यहोर्नुपरेको दाबी गरेका छन् ।

तर, कुन तहबाट अन्तर्घात भयो भन्ने विषयमा उनले खुलाउन चाहेका छैनन् । जनताले एमालेलाई माया गरे पनि नेताहरूबाटै खतरा रहेको ओलीको दाबी छ । ‘समस्या हामीभित्रै देखिएको छ, आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।’ ओलीले भनेका छन् ।

भूगोलमा पुगेका नेताहरू आफ्नो पालिकामा केन्द्रित नभएको र पार्टीले अगाडि सारेको उम्मेदवार हराउन केन्द्रित भएको ब्रिफिङ ओलीको छ । ‘नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ,’ चुनावी पराजयको प्रारम्भिक समीक्षा संकेत गर्दै बैठकमा ओलीले भनेका थिए । चुनावअघि एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई भूगोलमा केन्द्रित हुन निर्देशन दिएको थियो ।

केन्द्रीय निर्वाचन विभागले सबै पालिकाको मत संकलन गर्ने, विश्लेषण गर्नेलगायतको काम गर्दै आएको छ । उपमहासचिव विष्णु रिमाल उक्त विभागको प्रमुख छन् । रिमालले ओलीलाई दैनिकजसो अन्तर्घातकै कारण एमाले हारेको रिपोर्टिङ ओलीलाई गर्दै आएका छन् ।

अन्तर्घात एमालेमा खतरनाक ट्रेन्डका रूपमा देखिएको ओलीको विश्लेषण छ । ओलीले ‘कांग्रेस र माओवादीमा नभएको अन्तर्घात एमालेमा देखियो, पार्टीभित्र देखिएको यस्तो खतरनाक ट्रेन्डको गम्भीर ढंगले विस्तृतमा समीक्षा हुनेछ,’ ओलीले भनेका थिए ।

६ मध्ये एउटा पनि महानगरको नेतृत्व नजितेपछि एमाले पंक्तिमा निराशा छाएको छ । अघिल्लो निर्वाचनमा दुई महानगर र सात उपमहानगर जितेको एमालेले यसपटकको निर्वाचनमा महानगरतर्फ प्रमुखविहीन भएको छ भने तीन उपमहागरको मात्र प्रमुख जितेको छ ।

विभाजनपछि संघ र प्रदेश सरकारबाट बाहिरिनुका साथै राष्ट्रिय सभादेखि स्थानीय निर्वाचनसम्म एमाले पराजित हुँदै आए पनि ओलीगुटले त्यसलाई स्वीकार गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्