
काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा जोर्डनले अन्तिम २१ मिनेटमा २ गोल गरेको थियो । यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका गोलकिपर दिप कार्कीले पहिलो हाफमा पेनाल्टी बचाएका थिए ।
४३औं मिनेटमा विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार कार्कीले उत्कृष्ट डाइभ गर्दै बचाए । अहिलेसम्मको पाँच भेटमा नेपालले जोर्डनलाई एक पटक मात्र बराबरीमा रोक्न सकेको छ ।
११ सिनियर खेलाडीविना उत्रेको नेपालले पहिलो हाफमा डिफेन्सिभ खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भयो । ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । ओलानले सुलेमानको पासमा गोल गरे । दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो ।
हम्जा अलदरादेहले पेनाल्टीमा सहजै गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । खेलाडी-प्रशिक्षक विवादका कारण नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपालका लागि नवयुग श्रेष्ठले यसै खेलबाट कप्तानी डेब्यु गरेका छन् ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल २८ जेठमा कुवेतसँग खेल्नेछ ।











