
काठमाडौं । आठ क्वीन्टल चिनीसहित २ जना रुपन्देहीबाट पक्राउ परेका छन् । सोमबार राति १० बजे रुपन्देहीको सैनामैना नगरपालिका–१ भच्कैयाबाट उनीहरु पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार चेकजाँचका क्रममा अर्घाखाँचीको पाणिनी गाउँपालिकाका २२ वर्षीय मिनबहादुर रास्कोटी पक्राउ परेका हुन् ।
सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको बलेरो पिकअपमा भन्सार राजश्व छलेर ल्याएको आठ क्वीन्टल चिनी फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक मरासिनीले जानकारी दिए ।
बरामद गरिएको उक्त चिनी रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर १ हात्तीबजारस्थित सुमन पन्तले सञ्चालन गरेको आरती किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको खुलेको थियो ।
त्यसपछि पसलका सञ्चालक पन्तलाई पनि पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।












