
काठमाडौं । बाँकेका ३ वटा पालिकाले विद्यालयमा थप ३ दिन विदा दिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले विदा थपेका हुन् । गर्मी अत्याधिक बढ्दै गएपछि विद्यालय विदा थप गरिएको कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बताए ।
यी पालिकाले यसअघि २७ देखि ३१ जेठसम्म गर्मी विदा दिएका थिए । अब विद्यालय ५ असारमा मात्र खुल्ने छन् । यस्तै राप्तीसोनारी गाउँपालिकाले पनि विद्यालयमा ३ दिन गर्मी विदा दिएको छ ।
अत्यधिक गर्मीले विद्यार्थीलाई विद्यालय आउजाउ गर्न र विद्यालय कोठमा बसेर अध्यन, अध्यापन गराउन समस्या भएपछि गर्मी विदा दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए । उनले राप्तीसोनारीका विद्यालयमा ५ असारदेखि नियमित रुपमा पठनपाठन हुने जानकारी दिए ।
बाँकेको तापक्रम ४० डिग्री पुग्ने गरेको छ । तापक्रम नघटेपछि गर्मीले जनजिवन नै प्रभावित भएको छ ।











