काठमाडौँ। नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद्देखि राजनीतिक दलभित्रसम्म नागरिकका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन्। संसद् र पार्टीभित्र पर्याप्त लोकतान्त्रिक खुलापन नभएकाले सिङ्गो देशलाई नै ‘खुलामञ्च’को अवधारणा आवश्यक परेको उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले १० वर्षपछि खुला भएको खुलामञ्च काठमाडौँको एउटा चौर मात्र नभएको स्पष्ट पारे। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चको ऐतिहासिक योगदान रहेको स्मरण गराउँदै उनले यही ठाउँबाट धेरै दल र नेताहरूको राजनीतिक यात्रा अघि बढेको बताए।
“खुलामञ्च १० वर्षपछि खुलेको छ, यो काठमाडौँको चौर मात्र होइन,” थापाले भने, “यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना दलहरू पनि जन्मिएका छन्।”
जननायक बीपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत यही मञ्चबाट जनतालाई सम्बोधन गरेको चर्चा गर्दै उनले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर दिएको बताए। “खुलामञ्चले मतभेदहरूलाई एकै ठाउँमा राखेर छलफल गर्ने वातावरण बनाउँछ,” उनले जोडे।
नेता थापाले यस्ता खुलामञ्चको अवधारणा अब देशका विभिन्न भागमा पुर्याउनुपर्ने र त्यसका लागि सर्वप्रथम सिंहदरबार र संसद्भित्रै खुलापन ल्याउनुपर्नेमा जोड दिए।
“संसद् अहिले खुला छैन, प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म यो खुला हुन सक्दैन,” उनले भने। सत्तामा रहेकाहरूले नागरिकका प्रश्न सुन्नुपर्ने र निरन्तर संवादमा रहनुपर्ने उल्लेख गर्दै थापाले लोकतन्त्रमा जनताको आवाज दबाउन नहुने बताए। संसद् जनताको सार्वभौम आवाज र प्रश्नको प्रतिनिधित्व गर्ने मुख्य थलो भएकाले यसलाई थप पारदर्शी, खुला र उत्तरदायी बनाउनुपर्ने उनको भनाइ थियो।
उनले पहाडदेखि तराईसम्म र भौतिक संरचनादेखि डिजिटल माध्यमसम्म खुला संवादका थलोहरू निर्माण गरिनुपर्ने बताए। नागरिकले निर्धक्क आफ्ना कुरा राख्न र नेतृत्वलाई प्रश्न गर्न पाउने वातावरण देशभर सिर्जना गरिनुपर्नेमा उनले जोड दिए।
पार्टीभित्र पनि यही लोकतान्त्रिक संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै थापाले नेतृत्वमाथि प्रश्न उठाएकै भरमा पार्टी सदस्यता गुम्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए।
“पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,” उनले भने, “संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले आज देशलाई खुलामञ्च चाहिएको छ।”













