
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुईजनामा हैजाको जीवाणु पुष्टि भएको छ ।
काठमाडौंको बागबजार बस्दै आएका २५ वर्षीया दिदी र १८ वर्षीया बहिनीमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. किजन महर्जनले बताए ।
दिदीको स्वास्थ्यमा बुधबार समस्या देखिएको र बिहीबार बहिनी पनि बिरामी परेपछि नजिकको अस्पताल पुगेका दुवैमा हैजा पुष्टि भएपछि उनीहरूलाई शुक्रराज अस्पतालमा रेफर गरिएको थियो । उनीहरूको दिसा परीक्षण गरेपछि हैजाको जीवाणु भेटिएको डा. महर्जनले बताए । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
एकजनाको मिर्गौलामा समेत समस्या देखिएको डा. महर्जनले बताए । चिकित्सकका अनुसार दूषित पानीबाट हैजाको जीवाणु सरेको हुन सक्छ । चिकित्सका अनुसार हैजाको जीवाणु दिसामा पाइने भएकाले दिसा मिसिएको खानेकुरा र पानीबाट हैजा संक्रमण हुन्छ ।
काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइहेकाले धारामा आउने पानी दूषित हुन सक्ने र जारको पानी पनि प्रदूषित हुन सक्ने चिकित्सकले औंल्याएका छन् । हैजाका दुई बिरामीबाहेक ३ दिनमा ३७ जना झाडापखालाका बिरामी शुक्रराज अस्पताल पुगेका छन् ।
सामान्य अवस्थामा बिरामीले नजिकको औषधि पसलबाट औषधि किनेर खाने र निको नभए मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण समुदायमा थप बिरामी पर्न सक्ने अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले बताए ।
वर्षाको सिजन भएकाले झाडापखालको जोखिमबाट बच्न सावधानी अपनाउनुन उनको सुझाव छ । नागरिकमा समाचार छ ।














