धादिङ । धादिङमा किसानले रासायनिक मल लुटेका छन् । धान खेती गर्ने समयमा मलको चरम अभाव भइरहेका बेला धादिङका किसानले २ ट्रक रासायनिक मल लुटपाट गरेका हुन् ।

शनिबार दिउँसो धादिङको धार्के बजारमा रासायनिक मल बोकेको दुई वटा ट्रक स्थानीय किसानले नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् । सो मल भारतबाट भन्सार छली ल्याइएको बुझिएको छ ।
भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले मल कब्जा गरेर घरतिर लगेका हुन् । सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेका थिए । तर, उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेको राजस्व विभागले जनाएको छ ।














