
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् ।
अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम, अमेरिका भ्रमणलगायत विषयमा छलफल गर्न समितिले देउवालाई बोलाएको थियो । बैठक बिहान १० बजे सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् । प्रधानमन्त्रीले समितिलाई अपमान गरेको खरेलको भनाइ छ ।
हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलले बताइन् । शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा सहभागी भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका थिए ।














