Logo
Logo

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा २ पाइलट अनिवार्य


1.3k
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अनिवार्य २ जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणले विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरमा विशिष्ट व्यक्तिको उडानमा अनिवार्य २ जना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।

यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम २ जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्थासमेत गरेको छ । हाल नेपालमा १० वटा निजी र सरकारको १ गरी ११ वटा हेलिकप्टर कम्पनी छन् ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौँ बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णयसमेत गरेको छ । हवाई जहाज सञ्चालक कम्पनीले असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ ।

यसैगरी हेलिकप्टरले पनि असार ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्