
बैतडी । बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैको बोट अमेरिकन फौजी किराले सखाप पारेको हो ।
लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ ।
दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ । ‘जिल्लाका विभिन्न स्थानबाट किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेका छन् । हामीले विषादी छर्किन सुझाव दिएका छौँ,’ चन्दले भने ।
मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ । ३ वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ । अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको दोगडाकेदार गाउँपालिका–२ का दीपिका कार्कीले बताइन् ।
‘किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौं,’ उनले भनिन्, ‘गाउँपालिकासँग किरा मार्ने विषादी माग गरेका छौं ।’ केन्द्रले किरा मार्न इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको कृषि प्रचार अधिकृत चन्दले जानकारी दिए ।
सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उनको भनाइ छ । बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ ।














