काठमाडौं । कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले न्यायपरिषदको आज आकस्मिक बैठक डाकेका छन् । आज दिउँसो साढे १ बजे न्यायपरिषदका सबै सदस्यहरुलाई बैठकमा बोलाइएको एक सदस्यले बताए ।
उनका अनुसार साढे १ बजे आकस्मिक बैठक बोलाइएपनि एजेण्डाबारे बताइएको छैन । काठमाडौंका न्यायाधीश राजकुमार कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको स्रोतको भनाइ छ ।
न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीच भएको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको थियो ।
उक्त सार्वजनिक अडियोमा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका छन् । उक्त विषयमै छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ ।














