
काठमाडौं । जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्न पहल गर्ने अधिवक्ता रूद्रप्रसाद पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका पात्र रहेको खुलेको छ ।
प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गरेपछि पोखरेलले विघटनको पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए । पोखरेलको घर ओलीको निर्वाचन क्षेत्र झापाको गौरादहमा पर्छ । ओलीसँग पोखरलेको राम्रो सम्बन्ध रहेको कानुन व्यवसायी बताउँछन् ।
२०५१ सालदेखि नै वकालत गर्दै आएका पोखरेलले नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्षका रुपमा काम गरेका थिए । त्यतिबेला पोखरेल एमाले समर्थक कानुन व्यवसायीको तर्फबाट निर्वाचित भएका थिए ।
त्यसपछि उनी एमाले समूहकै नेतृत्व गर्दै पाटन बार एसोसिएसनमा २०७०–७३ सम्म अध्यक्ष भएका थिए । उनी अहिले नेकपा एमालेको कानुन विभागका सदस्य हुन् ।
दुई करोड घुस डिल गर्ने पोखरेल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग पनि नजिक सम्बन्ध राख्छन् । नेपाल बार एसोसिएसनले राणालाई हटाउन माग गर्दै आन्दोलन गर्दा उनी राणाको समर्थनमा उत्रिएका थिए ।
अधिवक्त पोखरेलले व्यवसायी तामाङलाई रिहा गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालासँग दुई करोड घुसको डिल गरेको अडियो मंगलबार न्यूज २४ टेलिभिजनले लिक गरेको थियो ।














