काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । उनले आसन्न प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका हुन् ।

काठमाडौंमा आइतबार आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै अध्यक्ष नेपालले शेरबहादुर देउवा नेतृत्वमा रहेको सरकार कायमै रहने समेत बताए । अध्यक्ष नेपालले भने, ‘गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं । यो गठबन्धन सरकार कायमै रहन्छ ।’
गठबन्धनमा केही समस्या रहेपनि छलफल गरेर अघि बढ्ने उनको भनाइ छ । ‘गलत कुरा छन् भने संघर्ष गर्ने हो । जनतालाई कष्ट र दुःख हुने कुरामा भने साथ हुन्न’ अध्यक्ष नेपालले भने, ‘तर, हामी सुशासनका पक्षमा छौं ।’ अध्यक्ष नेपालले पार्टी संगठन व्यापक रूपमा विस्तार गर्न आग्रह गरेका छन ।











