Logo
Logo

गगन नेतृत्वको कांग्रेस कति फरक ? (भिडियोसहित)


0
Shares

काठमाडौं । सबैभन्दा पूरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशन कांग्रेसका लागि नेतृत्व छान्ने नियमित प्रक्रिया मात्रै होइन, यसपटक पुरानो कांग्रेस र नयाँ कांग्रेसबीचको दूरी नाप्ने परीक्षा पनि बनेको छ। किनकि कांग्रेसको नेतृत्वमा गगन थापा आइसकेपछि पार्टीले आफूलाई कति बदल्छ ? कांग्रेस अब पनि पद, गुट र सत्ताको वरिपरि घुम्छ कि नीति, परिणाम र नागरिकको विश्वासतिर फर्किन्छ ? मूल प्रश्न यही हो ।

गगन थापाले १५औँ महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनले कम्तीमा कागजमा भने कांग्रेसलाई नयाँ बाटोमा हिँडाउने दाबी गरेको छ । प्रतिवेदनले कांग्रेसको विगतको कमजोरी लुकाएको छैन । बरु पछिल्ला दुई दशकमा पार्टी आफ्नो मूल उद्देश्यभन्दा पद र सत्तामा बढी केन्द्रित भएको स्वीकार गरेको छ । गठबन्धन, भागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको निष्कर्ष छ । भ्रष्टाचार र अनियमिततामा आफ्नै मान्छेलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थामाथिको विश्वाससमेत कमजोर बनाएको स्वीकारोक्ति छ । अर्थात्, गगन नेतृत्वको कांग्रेसले पहिलोपटक आफ्नै ऐनामा आफूलाई हेरेको दाबी गरेको छ । प्रश्नचाहिँ अब ऐना हेरेर पुग्छ कि अनुहार पनि बदलिन्छ भन्ने हो ।


किनकि कांग्रेसको पुरानो समस्या नेतृत्व मात्रै थिएन । समस्या राजनीतिक संस्कार थियो । चुनाव आयो, गठबन्धन भयो । सत्ता आयो, भागबन्डा भयो । पद आयो, गुट बलियो भयो । आफ्ना मान्छे संकटमा परे, संरक्षण भयो । नागरिक प्रश्न गर्न थाले, भाषण आयो । यही चक्रले कांग्रेसलाई नागरिकबाट टाढा पु¥याएको प्रतिवेदन आफैँ स्वीकार गर्छ । त्यसैले गगन थापाको कांग्रेसको पहिलो दाबी हो– अब ‘सत्ता केन्द्रित कांग्रेस’ होइन, ‘नागरिक केन्द्रित कांग्रेस’।

भदौ २३ र २४ को जेनजी आन्दोलनलाई षड्यन्त्र भनेर मात्रै पन्छाउन नहुने कुरा प्रतिवेदनमा स्पष्ट छ । सुशासन, अवसर र निष्पक्षताको मागलाई नागरिकको जायज असन्तोषका रूपमा स्वीकार गरिएको छ । यही असन्तोषलाई नबुझेकै कारण फागुन २१ को निर्वाचनमा कांग्रेस पराजित भएको निष्कर्ष निकालिएको छ । अर्थात्, कांग्रेसले आफ्नो हारको दोष मतदातालाई होइन, आफूभित्र खोजेको छ ।

अब कांग्रेसले ३८ सिटसहित संसद्मा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनिएको छ । सरकारलाई गाली मात्रै होइन, तथ्य र प्रमाणका आधारमा प्रश्न गर्ने, भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाउने तथा आलोचना मात्र नगरी वैकल्पिक नीति प्रस्तुत गर्ने प्रस्ताव छ । संघ र प्रदेश तहमा ‘छायाँ सरकार’को अभ्यास गर्ने भनिएको छ । यो पुरानो कांग्रेसभन्दा फरक सुनिन्छ । तर यसको असली परीक्षा संसद्मा हुनेछ । प्रतिपक्षको कुर्सीमा बसेर सरकारको गल्ती गन्नु सजिलो छ । आफ्नो विकल्प देखाउनु कठिन ।

अर्को ठूलो परिवर्तन गठबन्धनको राजनीतिमा प्रस्ताव गरिएको छ । आगामी निर्वाचनमा कुनै पनि दलसँग निर्वाचनपूर्व गठबन्धन नगर्ने, आफ्नै रुख चिह्न, आफ्नै उम्मेदवार र आफ्नै एजेन्डासहित जनतामाझ जाने भनिएको छ । उम्मेदवार छनोटमा गुट र पहुँच होइन, योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने प्रस्ताव छ । प्राइमरी निर्वाचन र सदस्यको प्रत्यक्ष मतलाई समेत महत्व दिने भनिएको छ । यदि यो व्यवहारमा आयो भने कांग्रेसको पुरानो राजनीतिक अभ्यासमै ठूलो धक्का लाग्छ । किनकि कांग्रेसभित्र उम्मेदवार बन्न जनताको मतभन्दा नेताको नजिक हुनु बढी प्रभावकारी हुने गुनासो लामो समयदेखि सुनिँदै आएको हो ।

गगन नेतृत्वको कांग्रेसको अर्को दाबी विचारमा पनि छ । राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई आधार मानेर २१औँ शताब्दीअनुकूल विचार नवीकरण गर्ने प्रस्ताव छ । राष्ट्रियतालाई नारा र भूगोलमा सीमित नराखी ऊर्जा, खाद्य, प्रविधि र वित्तीय क्षमतासँग जोड्ने तथा लोकतन्त्रलाई चुनावमा मात्रै सीमित नराखी नागरिकको वास्तविक सहभागितासँग जोड्ने भनिएको छ । यसको अर्थ कांग्रेस २.० ले बीपीलाई केवल स्मरण गर्ने होइन, बीपीको विचारलाई नयाँ समयसँग जोड्ने प्रयास गर्ने दाबी गरेको छ ।

आर्थिक क्षेत्रमा पनि पुरानो शैलीबाट बाहिर निस्कने संकेत छ । निजी क्षेत्रलाई कर उठाउने ठाउँ मात्रै नभई उत्पादन, रोजगारी, नवप्रवर्तन र सम्पत्ति निर्माणको इन्जिनका रूपमा स्वीकार गर्ने प्रस्ताव छ । विप्रेषणलाई उपभोगमा सकाउने होइन, कृषि, उद्योग, पर्यटन र प्रविधिमा लगानी गर्ने वातावरण बनाउने भनिएको छ । जलस्रोत र स्वच्छ ऊर्जालाई औद्योगीकरण र निर्यातको आधार बनाउने प्रस्ताव छ । यसको साथै ‘पूर्ववितरणात्मक न्याय’को अवधारणा अघि सारेको छ । असमानता बढेपछि मात्रै कर र अनुदानबाट समाधान खोज्ने होइन, शिक्षा, स्वास्थ्य, सीप, वित्त र रोजगारीमा सुरुदेखि नै समान अवसर सिर्जना गर्ने नीति छ ।

युवाका लागि पनि प्रतिवेदनले अलगै ढोका खोल्ने प्रयास गरेको छ । जेनजी पुस्ताको असन्तोष र माग बुझ्न स्वतन्त्र युवा विज्ञ सम्मिलित विशेष कार्यदल बनाउने, त्यसका सिफारिस पार्टीको नीति निर्माणमा लागू गर्ने तथा डिजिटल माध्यमबाट युवाको सहभागिता बढाउने प्रस्ताव छ । अर्थात्, हिजो युवालाई चुनावका बेला झण्डा बोकाउने कांग्रेस अब युवालाई नीति बनाउने टेबलमा बसाउने दाबी गर्दैछ ।

संगठनमा पनि ठूलो पुनर्संरचनाको प्रस्ताव छ । कांग्रेसलाई चुनावका बेला मात्रै सक्रिय हुने पार्टीबाट नागरिकसँग निरन्तर जोडिने संस्थामा बदल्ने, पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा जोड्ने तथा पाँच पुस्ताबीच नेतृत्व हस्तान्तरणको संस्थागत बाटो खोल्ने भनिएको छ । नेतृत्व विकास, नीति अनुसन्धान, निर्वाचन तयारी र जनप्रतिनिधिलाई सहयोग गर्न छुट्टाछुट्टै संस्थागत संरचना बनाउने प्रस्तावसमेत छ ।

तर कांग्रेस २.० को सबैभन्दा ठूलो परीक्षा पार्टीभित्रै हुनेछ । किनकि प्रतिवेदनले ‘के गर्नेछैनौँ’ भन्ने प्रतिबद्धता पनि प्रस्ताव गरेको छ । न्यायपालिका, संवैधानिक निकाय, विश्वविद्यालय र प्रशासनमा दलीय भागबन्डा नगर्ने । सार्वजनिक सम्पत्ति र अधिकारलाई गुट वा व्यक्तिको लाभमा प्रयोग नगर्ने । पैसा, पहुँच र नेतासँगको निकटताका आधारमा अवसर नदिने ।

भ्रष्टाचारमा आफ्ना मान्छेलाई फरक व्यवहार नगर्ने । अधिवेशन टार्न वा उम्मेदवारी प्रभावित पार्न अन्तिम समयमा नियम नबदल्ने । यही प्रतिबद्धता सबैभन्दा कठिन हो । किनकि कांग्रेस बदल्नु भनेको भाषण बदल्नु होइन, आफूलाई फाइदा दिने पुरानो प्रणाली बदल्नु हो । त्यसैले गगन नेतृत्वको कांग्रेस कति फरक भन्ने प्रश्नको उत्तर अहिले महाधिवेशनको मञ्चबाट होइन, महाधिवेशनपछि देखिनेछ ।

प्रतिवेदनमा हरेक सार्वजनिक निर्णयका लागि पाँच प्रश्नको जवाफ खोज्ने प्रणाली प्रस्ताव गरिएको छ– के निर्णय भयो ? किन भयो ? जिम्मेवारी कसको हो ? परिणाम के आयो ? परिणाम नआए के सुधार गरियो ? विकास आयोजना, बजेट खर्च र जिम्मेवार पदाधिकारीको विवरण नागरिकले हेर्न सक्ने डिजिटल ड्यासबोर्ड बनाउने प्रस्तावसमेत छ । यो व्यवस्था कांग्रेसले सरकार चलाउँदा मात्रै होइन, पार्टी चलाउँदा पनि लागू गर्न सक्यो भने कांग्रेस २.० भन्ने शब्दले अर्थ पाउन सक्छ ।

प्रतिवेदनले प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने प्रस्ताव पनि गरेको छ । निर्वाचनमा प्राइमरी, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार, निर्वाचन प्रणाली सुधारजस्ता विषयसमेत उठाइएको छ । र, सबैभन्दा महत्वपूर्ण कुरा, यो प्रतिवेदनले कांग्रेसको पुनर्जागरणलाई केवल नेतृत्व परिवर्तन मानेको छैन । राजनीति, अर्थतन्त्र, रोजगारी, सामाजिक सुरक्षा, प्रविधि, जलवायु, संघीयता, सुशासन र राष्ट्रिय स्वाधीनतासम्म जोडेर ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’को अवधारणा अघि सारेको छ ।

तर, कांग्रेसको समस्या घोषणापत्रको अभाव थिएन । समस्या घोषणापत्र र व्यवहारबीचको दूरी थियो । कांग्रेसले यसअघि पनि लोकतन्त्र, समाजवाद, सुशासन र सामाजिक न्यायका कुरा नगरेको होइन । जनताले अब शब्द होइन, परिणाम खोजिरहेका छन् । त्यसैले १५औँ महाधिवेशनबाट गगन नेतृत्वमा आउने कांग्रेसलाई अब एउटा मात्र प्रश्नले पछ्याउनेछ– कांग्रेसमा व्यक्ति मात्रै फेरियो कि चरित्र पनि ?

यदि गुट उस्तै रह्यो, भागबन्डा उस्तै रह्यो, पहुँचवालाकै बोलवाला उस्तै रह्यो, आफ्ना मान्छेको भ्रष्टाचारमा आँखा चिम्लियो र नागरिकसँगको दूरी उस्तै रह्यो भने ‘कांग्रेस २.०’ पनि नयाँ बोलतमा पुरानै रक्सि रहने छ । तर, उम्मेदवार छनोट बदलियो, पार्टीभित्रको लोकतन्त्र बदलियो, भ्रष्टाचारमा आफ्ना मान्छेलाई पनि कारबाही भयो, युवालाई निर्णयको केन्द्रमा ल्याइयो, सरकारमा हुँदा परिणाम र प्रतिपक्षमा हुँदा विकल्प देखाइयो भने कांग्रेस साँच्चै बदलिन सक्छ ।

गगन थापाले प्रतिवेदनमा कांग्रेसलाई निर्वाचन केन्द्रित संगठनबाट नागरिकसँग निरन्तर जोडिने राजनीतिक संस्थामा बदल्ने कार्यदिशा अघि सारेका छन् । अब हेर्न बाँकी एउटै कुरा हो– गगनले लेखेको कांग्रेस कागजमै सीमित हुन्छ कि व्यवहारमै ‘कांग्रेस २.०’ बन्छ ? किनकि कांग्रेसलाई अब नयाँ नाम होइन, नयाँ चाल चाहिएको छ। नयाँ नारा होइन, नयाँ संस्कार चाहिएको छ । र, सबैभन्दा बढी जनताले फेरि विश्वास गर्न सक्ने नयाँ कांग्रेस चाहिएको छ ।

प्रतिक्रिया दिनुहोस्