
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री आलेले राजीनामा पत्र पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । औपचारिक घोषणा भने साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत गर्ने बताए । दृष्टिन्यूजसँग कुरा गर्दै मन्त्री आलेले भने– ‘अध्यक्षज्यूलाई राजीनामा बुझाइसकेको छु । यसको औपचारिक घोषणा साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने छु ।’
मन्त्री आलेले पार्टीको बफादार सिपाही भएको नाताले पार्टीले गरेको निर्णयप्रति आफू इमानदार रहेको समेत बताएका छन् ।
उनले भने– ‘म पार्टीको इमानदार सिपाही हुँ । त्यसैले पार्टीले गरेको निर्णय मान्छु । विभिन्न कारण मन्त्री फेर्ने पार्टीको निर्णय अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या भएको हो । म समस्यको कारण बन्न चाहन्न । त्यसैले अध्यक्षलाई राजीनामा बुझाएको हुँ ।’
नेकपा एकीकृत समाजवादीको सचिवालय समितिले जेठ २२ गते पार्टीबाट सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम सिफासिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आवद्ध एकीकृत समाजवादीको निर्णय तीन साता बितिसक्दा समेत कार्यान्वयन गरेका छैनन् ।











