जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालले जाँचै नगरी शल्यक्रिया गर्दा बिरामीको ज्यान खतरामा परेको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मधेस प्रदेशका प्रदेशसभा सदस्यले माग गरेका छन् ।

प्रदेशसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै प्रदेशसभा सदस्यले कुनै जाँचै नगरी पित्तथैली शल्यक्रिया गर्दा गर्भवती महिला बिभा चौधरीको स्वास्थ्य अवस्था जटिल भएकाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
प्रदेशसभा सदस्य परमेश्वर साहले पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गराउन प्रादेशिक अस्पतालमा भर्ना भएकी महोत्तरीकी बिभाको स्वास्थ्य जाँच नगरी चिकित्सकले शल्यक्रिया गर्दा उनको जीवन खतरामा पुगेको बताए ।
शल्यक्रिया अघि भिडियो एक्सरे, एक्सरे गर्ने गरिन्छ, तर बिभाको शल्यक्रिया अघि अस्पतालले कुनै किसिमको जाँच गरिएको छैन”, प्रदेशसभा सदस्य साहले भने, “यो घटनामा चिकित्सकको चरम लापर्बाही देखिन्छ, चिकित्सकले संवेदनशीलता नदेखाएकाले गर्भवती महिलाको ज्यान खतरामा पुगेको छ । त्यसैले घटनाको सत्यतथ्य छानबिन गरेर चिकित्सकमाथि कारबाही गर्नुपर्छ ।”
बिभाको घटनाले मधेस प्रदेशको स्वास्थ्य अवस्थालाई उजागर गरेको भन्दै प्रदेशसभा सदस्य सत्यनारायण मण्डलले लापर्बाही गर्ने प्रादेशिक अस्पतालका चिकित्सवलाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य मनिषकुमार सुमनले बिभाको जीवनसँग चिकित्सकले खेलवाड गरेको आरोप लगाउदै शल्यक्रियामा संलग्न चिकित्सक मुख्य दोषी रहेकाले तत्काल छानबिन गरेर दोषी चिकित्सकको लाइसेन्स खारेज गर्नुपर्ने माग गरे ।











