काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरेका छन् ।
जसपाका पूर्वमन्त्री हेमराज राईसहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेस लोकतन्त्र, नीति, विचार र सिद्धान्त सबै परित्याग गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिपछि हिँड्न थालेको बताएका हुन् ।

उनले भने, ‘कांग्रेसले पहिले प्रजातन्त्र भन्थ्यो आजकाल भन्न छाड्यो, प्रजातन्त्र सिद्धियो, गठबन्धन भन्न थाल्यो । नीति के हो ? गठबन्धन, कार्यक्रम के हो ? गठबन्धन, कहाँ पुग्ने हो भन्दा( गठबन्धन, के गर्ने–गठबन्धन कांग्रेस अब लोकतान्त्रिक पार्टी रहेन, कांग्रेस अब प्रचण्डको कार्यकर्ता हो । माओवादी भनेको कुनै पार्टी होइन, प्रचण्ड एन्ड कम्पनी हो । त्यसैको पछिपछि लुरुलुरु हिँडिरहेको छ ।’
विगतमा प्रजातन्त्रका लागि लडेको, देशको हितमा थुप्रै पटक काम गरेको इतिहास बोेकेको पार्टी भए पनि माओवादीको पछि लागेर कांग्रेसले आफ्नो पहिचानसमेत गुमाइसकेको ओलीको दाबी छ ।
माओवादीले पनि जनवाद ल्याउँछु भन्दै अनेक सपना देखाएर सहिद परिवार र घाइतेहरूलाई बिचल्ली बनाइरहेको अहिले कांग्रेसको पछिपछि कुदिरहेको उनको भनाइ छ । राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने गठबन्धनको निर्णयमार्फत ललकारेर संसद्को अपमान गरिएको ओलीको भनाइ छ ।
उनले नेकपा एमाले सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा रहेको बताए । उनले भने,
‘कोही राजनीति आफ्ना लागि,आफ्ना स्वार्थको लागि, आफ्ना छोरी(बुहारीका लागि, आफ्ना श्रीमती, साला(बुहारीका लागि, आफ्ना नातागोता, इस्ट(मित्रका लागि गर्छन् । हामीले त्यस्तो राजनीति गर्ने होइन । हामीले देशका लागि र जनताका लागि राजनीति गर्नुपर्छ ।’
समाजमा रुपान्तरण र परिवर्तनका लागि राजनीति गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले जनतालाई ढाँट, छल गर्नका लागि राजनीति नभएको बताए । उनले केही मान्छेले ‘पेड’ राजनीति गरेको आरोप पनि लगाए । हिमाल, पहाड तराईमा हेर्दा र कार्ययोजना, उद्देश्य, आदर्शका हिसाबले पनि एमालेसँग कसैको तुलना नहुने उनले दाबी गरे ।
उनले देशको रक्षा, सुदृढिकरण, समृद्धि र राष्ट्रिय स्वाभिमानका साथै भ्रष्टाचार निर्मूल गर्न, समृद्धि हासिल गरेर समृद्ध नेपाल बनाउने गन्तव्यसहित नेकपा एमाले अगाडि बढेको बताए ।
ओलीले एमालेले सामाजिक सद्भावमा आधारित एकता कायम गरिरहेको बताए । एकतावद्ध तरिकाबाट राष्ट्रको विकास र सुशासन कायम हुने र यसबाट मात्रै सुखी नेपाली समृद्ध नेपालको गन्तव्यमा पुग्न सकिने उनको भनाइ थियो ।














