Logo
Logo

ड्रेस टु इम्प्रेस-६ : चार जनाले जिते उत्कृष्ट डिजाइनरको उपाधि



काठमाडौं। फेसन डिजाइनिङ र मोडलिङको समिश्रण कार्यक्रममा ‘ड्रेस टु इम्प्रेस’को सिजन–६ मा १२३ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिए । तीमध्ये चार जना उत्कृष्ट भएका छन् ।

काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस सिजन–६’मा आयोजकले डिजाइनरहरुलाई चार वटा थिम दिइएको थियो । आईआईएफटी : स्कुल अफ फेसन एण्ड इन्टेरियरले आयोजना गरेको उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा ‘रोकोको थिम’मा ओमन लकान्द्री उत्कृष्ट बने । यस्तै, कलर ब्लकिङ थिममा छायाँ खड्का विजेता बनेकी छन् भने रेष्ट्रो र नेट विइङ्स थिममा क्रमशः पुष्पा शाही र विष्णा बम उत्कृष्ट बने ।

उत्कृष्ट डिजाइनर छनोटका लागि सात जना निर्णायक थिए । जसमा हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, थे्रड गार्मेन्टका सञ्चालक कृष्ण राज तिमिल्सना, केज फिटनेशका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, फेसन डिजाइनरहरु महेश महर्जन, कुसुम श्रेष्ठ र निभा श्रेष्ठ थिए ।

कार्यक्रममा ‘मिस नेपाल–२०२२’ प्रियंका रानी जोशी, मिस नेपाल अर्थ डा सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का अतिथिका रुपमा सहभागी थिए ।

यो कार्यक्रम आईआईएफटीले विगत ६ वर्षदेखि आयोजना गर्दै आएको हो । आईआईएफटीले डिप्लोमा कोर्ष पूरा गरेका आफ्ना विद्यार्थीहरुलाई ‘ड्रेस टु इम्प्रेस’मार्फत फेसन सम्बन्धी थप ज्ञान प्रदान गर्दै आएको छ । जहाँ, डिजाइनर आफैँले तयार पारेका पहिरनमा प्रस्तुत हुने गरेका छन् । त्यसैले उनीहरुलाई मोडलिङबारे पनि ज्ञान लिन पाउनेछन् ।

फेसन डिजाइनर बन्न चाहनेहरुका लागि हब बनेकोे आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा र एड्भान्स कोर्ष गराउँदै आएको हो । काठमाडौंको बागबजार प्लाजा र कमलादीस्थित हेरिटेजप्जाजा तथा ललितपुरको कुमारीपाटी रहेको आईआईएफटीले अहिले इन्टेरियर डिजाइनको समेत कोर्ष गराउँदै आएको छ ।

आईआईएफटीका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार फेसन डिजाइनिङका बिद्यार्थीलाई ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले थप ज्ञान र अनुभव संगाल्ने अवसर दिएको छ । उनले भने, ‘फेसन डिजाइनिङ क्रियटिभ कार्य हो, जुन कार्य जनमानसमा पुर्याउन स्टेज आवश्यक हुन्छ । त्यसैअनुरुप विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’लाई निरन्तरता दिँदै आएका हौँ ।’

यसअघि सिजन ५ मा पनि चार वटा थिममा डिजाइनरबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला ‘मेक्सी विथ फ्लोरल प्रिन्ट’मा दीपा थापा मगर उत्कृष्ट बनेकी थिइन् । ‘वेस्टर्न ब्राइडल ः ह्वाइट गाउन’ थिममा अलिशा विष्ट, ‘एनिमी क्यारेक्टर’मा मनिषमान श्रेष्ठ र ‘पेपर फोल्ड’ थिममा सुमित्रा लामा उत्कृष्ट डिजाइनर बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्