काठमाडौं । काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै एनपीएलमा आज भएको खेलमा ३६ रनको जित हात पारेको छ ।

डेभिड वार्नरको अर्धशतक र बलरहरूको शानदार प्रदर्शनमा काठमाडौंले साबिक विजेता लुम्बिनीलाई पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो । कीर्तिपुरको टीयू मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।
वार्नरले ५० बलमा ९ चौका र १ छक्कासहित ६६ रन बनाए भने साहिल पटेलले ३८ रन जोडे । दुईजनाले पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। सहान अराचिगे अविजित ३४ रनमै रहे ।
लुम्बिनीले १६१ रनको लक्ष्य पछ्याउँदा पावर प्लेभित्रै ६ विकेट गुमायो । काठमाडौंका लागि जहानदाद खानले ४ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । लुम्बिनीका लागि सन्दीप जोराले ४५ रन बनाए पनि टोली १९.३ ओभरमा १२४ रनमै समेटियो ।लुम्बिनी ५ खेलबाट ७ अङ्कसहित शीर्ष स्थानमै छ भने काठमाडौं ४ खेलबाट ६ अङ्कसहित दोस्रो स्थानमा उक्लेको छ ।


















