काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने अधिकार नरहेको बताएका छन् ।

श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम भएको बताएका हुन् । बुधवार सामाजिक सञ्जालमा लेख्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
त्यस्तै, उनले संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयकबारे विभिन्न दृष्टिकोण र विचार भए पनि यसको सम्मान गरिनु पर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘संसदबाट दोस्रो पटक पारित गरी प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता बिधेयकका बारेमा बिभिन्न दृष्टिकोण र बिचारहरु छन् । यसको सम्मान गरिनु पर्दछ । म स्वयंले पनि राष्ट्रिय सभाको बैठकमा र सार्बजनिक रुपमा समेत बिधेयकमा रहेको कतिपय लैंगिक बिभेद र बैबाहिक अनगिकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिए । हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो । हाम्रा बिचारहरु राष्ट्रपतिज्युले सरोकर देखाउनु भएका कतिपय बिचारहरुसंग पनि मेल खान्छन् । तर हामी के कुरामा पनि स्पष्ट छौं भने राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने छुट हुन सक्दैन । राष्ट्रपतिले नागरिकता बिधेयक प्रमाणित नगर्नु संविधान बिपरितको गलत कदम हो ।’












