
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
असोज ७ गते शुक्रबार बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनको घोषणा गरेको हो । नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।
पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिनुको साथै नागरिकताको अधिकार खोसेको विषय बारेमा माइकिङ गर्ने, असोज ११ गतेदेखि १८ गतेसम्म वडास्तरमा बिहान र दिउँसो अन्तरक्रिया कार्यक्रम तथा विरोध प्रदर्शन र असोज १९ गते पुतला दहनको कार्यक्रम राखिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जनाकारी गराएका छन् ।
दुई पटक दुवै संसदबाट पास भएर प्रमाणिकरण गर्न पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति भण्डारीले निर्धारित समयभित्र प्रमाणिकरण नगर्दा निस्क्रिय बनेको छ ।
राष्ट्रपतिको उक्त कदम संविधानविररित भएको विभिन्न राजनैतिक पार्टी र सामाजिक अगुवाहरुको ठम्मयाइ छ । राष्ट्रपतिको उक्त कदमविरुद्ध जनता समाजवादी पार्टीले पनि चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ ।












