Logo
Logo

मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ता भएकाको उद्धारमा कठिनाइ



गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार बिहान ११:३० बजे हिमपहिरो गएको हो ।

पहिरोमा फसेकाहरूको यकिन विवरण भने आउन सकेको छैन । पहिरोमा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए ।

खराब मौसमका कारण हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ । शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको बताइएको छ । पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ ।

मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपालीहरु मनास्लु आधार शिविरमा छन् । स्रोतका अनुसार ३–४ वटा ट्रेकिङ कम्पनीको टोली आधार शिविर पुगेको छ ।

पर्यटकको उद्धारका लागि सिम्रिक एयरको ९ एनटी एजेजेड कल साइनको हेलिकप्टर आधार शिविरमा अवतरण भइसकेको र अर्को हेलिकप्टर तयारी अवस्थामा रहेको सिम्रिक एयर स्रोतले जानकारी दिएको छ । विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्