Logo
Logo

‘सबै भाषा, धर्म र चाडपर्वको संरक्षण गर्नु नेपालीको साझा दायित्व हो’


252
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दशैंलगायतका पर्वहरु मनाउने सन्दर्भमा भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै जानुपर्ने बताएका छन् । मुख्यमन्त्री राईले महान चाड बडादशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपालीहरुको महानचाड वडादसैँको अवसरमा प्रदेश नं. १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

उनले पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हुने भन्र्दै सन्देशमा भनेका छन्, ‘नेपाल विविध भाषा धर्म संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुशी र उमङ्गले मनाउने दशैं एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् । पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो ।’

उनले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व भएको पनि बताएका छन् ।

‘नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।’ सन्देशमा भनिएको छ ।

उनले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, संघीयताको रक्षा, सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्