
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न निर्देशन दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन जान लागेको रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डललाई प्रधानमन्त्री शाहले शुक्रबार सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
रास्वपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा नेपालको हित र दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा ध्यान दिन आग्रह गरेका छन् । रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री शाहले चीनबाट नेपालले लिन सक्ने प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन र कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा उपलब्धि हासिल गर्ने गरी भ्रमण गर्न सुझाव दिएको बताए ।
‘भ्रमणमा घुमघाम मात्रै नहोस्, दुई देशको हितको लागि र विशेषगरी नेपालको हितको लागि काम गर्नसक्ने हिसाबको भ्रमण होस् भन्ने निर्देशन भएको छ,’ बुर्लाकोटीले भने । भेटमा प्रतिनिधिमण्डलले भ्रमणको उद्देश्य र तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध र भ्रमणका क्रममा अपनाउनुपर्ने सावधानीबारे पनि आवश्यक सुझाव दिएको बुर्लाकोटीले बताए ।
उनका अनुसार प्रधानमन्त्री शाहले रास्वपाको टोलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्दै नेपालको हितमा उपयोगी उपलब्धि हासिल गर्न आग्रह गरेका छन् । रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल कार्तिक २९ गतेदेखि १० दिने चीन भ्रमणमा जाँदैछ ।
भ्रमण टोलीमा सांसदहरू गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा र डा. धनञ्जय रेग्मीलगायत सहभागी हुनेछन् । त्यस्तै गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमणमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भ्रमणलाई नेपालको आर्थिक, प्राविधिक तथा अन्य क्षेत्रमा लाभ लिन सक्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।


















