Logo
Logo

रूपन्देही- २ : गुरुङ मैदानबाट बाहिरिएपछि विष्णु पौडेललाई ‘हाइसन्चो’


11.2k
Shares

काठमाडौं । रूपन्देही- २ मा एकीकृत समाजवादीका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हाइसन्चो भएको छ ।

सत्ता गठबन्धनको समर्थनमा प्रतिनिसिभा सदस्यको उम्मेदावरी दिएका गुरुङ मैदानबाट बाहिरिएपछि पौडेललाई निर्वाचन लड्न सजिलो भएको हो । बैंकिङ कसुरमा कालोसूचीमा रहेको भन्दै गुरुङविरुद्ध सोमबार उजुरी गरेको थियो । गुरुङ नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष हुन् ।

उनले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै काठमाडौं जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो । अदालतले गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिएको प्रमाण पेस गर्न नसकेपछि आयोगले उम्मेदवारी खारेज गरेको हो ।

वैशाखमा भएको स्थानीय निर्वाचनमा यहाँ सत्ता गठबन्धनले १६ वडा जितेको थियो । ६ वडामा एमाले र एउटामा स्वतन्त्रले जितेका थिए । यहाँ एकालेका वडाध्यक्ष उम्मेदवारले ३३ हजार १ सय ८७ मत ल्याएका थिए । गठबन्धनमा रहेका कांग्रेस उम्मेदवारले ३४ हजार ९ सय ५९ मत, माओवादीका उम्मेदवारले ३ हजार १ सय ८८, एकीकृत समाजवादीले १ हजार ३ सय ८२ मत ल्याएका थिए ।

यो तथ्यांक अनुसार यहाँ गठबन्धनको जित सहज थियो । लामो समयदेखि निर्वाचनको तयारी गरेको र गठबन्धनको साथसमेत पाएका कारण निर्वाचित हुनेमा गुरुङ ढुक्क थिए । तर, उनलाई आफ्नै व्यवहारले डुबाएको छ । विष्णु पौडेलको चुनौतिको पहाड नै पन्छिएको छ । किनभने पौडेललाई गठबन्धनविरुद्ध जित निकाल्नु फलामको चिउरा चपाउनुसरह थियो ।

अब यहाँ गठबन्धनले के गर्छ ? अरु कुनै उम्मेदवारलाई सघाउँकी भन्ने विषयले पौडेलको दौडमा अर्थ राख्छ । यस विषयमा गठबन्धनले निर्णय गरिसकेको छैन । यस्तै यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसालको पनि उम्मेदवारी खारेज भएको छ ।

भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो । स्वतन्त्र उम्मेदवारी दिएका हिमाल बस्यालको योग्यता नपुगेकाले उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यी २ युवामाझ निकै चर्चित थिए । गठबन्धन र एमालेकाे मत यी उम्मेदवारले काट्नसक्ने आँकलन गरिएकाे थियाे । यसकाे फाइदा पनि पाैडेललाई नै पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस्