
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व हस्तान्तरणका लागि नयाँ पुस्ता खोजिरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफू ७० वर्षसम्म सक्रिय राजनीतिमा रहने तर ८० वर्ष नकटाउने भन्दै योग्य नयाँ पुस्ता भेटे नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् ।
अनलाइनखबरसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष नेपालले नेतृत्वका लागि योग्य युवा पुस्ताका नेता भेटे खुसी खुसी आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताए ।
अध्यक्ष नेपालले भने– ‘नयाँ पुस्तालाई खोजिरहेको छु । नयाँ पुस्ताले जिम्मेवारी लिन्छ भने खुसी खुसीले जिम्मेवारी हस्तान्तरण गर्न तयार छु । तर, नयाँ पुस्तामा सबैलाई मिलाएर नेतृत्व गर्ने खुबी हुन आवश्यक छ ।’
अध्यक्ष नेपालले विगतमा आफूले पार्टी निर्माणका क्रममा सबै नेतालाई मिलाएर नेतृत्व गरेको स्मरण गर्दै युवा पुस्ताले पनि सबैलाई नेतृत्व गर्नसक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।











