काठमाडौं । नेकपा एकीकृत समाजवादी का महासचिव डा. बेदुराम भुसालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सबै घटक संघहरूलाई आफ्नो पार्टीको कलम चिन्हमा मतदान गर्ने वातावरण बनाउन भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको घटक संघहरूले आयोजना गरेको तिहार, नेपाल सम्बत्, छठ, उधौली, माघी र लोछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव भुसालले म भन्ने भावनाबाट टाढा रहेर हामी भन्ने भावना स्थापित गर्दै वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई जिताउने अभियानमा लाग्न आग्रह गरे ।
उनले गठबन्धन वर्तमान राजनीतिक आवश्यकता र समयको माग भएकाले साझा भावना लिई मुलुकको संविधान रक्षा र प्रतिगमनको विरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।
नेपाल तामाङ संघ समाजवादीका अध्यक्ष लाप्साङ पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आसन्न निर्वाचनलाई लक्षित गरेर नेपाल आदिवासी जनजाति महासंघ समाजवादीको संयुक्त घटक संघहरूबीचमा शुभकामना कार्यक्रम राखिएको हो ।











