
रुपन्देही । राष्ट्रिय जनमोर्चाको भूमिगत मोर्चा मानिने नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको छ ।
असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए । उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको दाबी गरे ।
नेकपा मशालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग नलिने महासचिव नेपालीले बताए । मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले जानकारी दिए ।











