Logo
Logo

पटकपटक संविधान भङ्ग गर्नेले त्यसको परिणाम भोग्नेछन् : कृष्ण सिटौला


1.5k
Shares

झापा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको बताएका छन् ।

लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक/पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनले बताए ।

झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश प्रखण्डस्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताए ।

‘हामी निर्वाचनको सम्मुखमा छौँ’, नेता सिटौलाले भने, ‘पटकपटक संविधान भङ्ग गर्न खोज्नेहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । यस पटकको निर्वाचनमा त्यसको परिणाम उनीहरूले आफैँ भोग्नेछन्, तपाइँ हामीले केही भनिरहनु पर्दैन ।’

नेता सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसके, त्यस्तालाई कसरी बोकेर हिँड्न सक्या होला, त्यो पार्टीको नाम उच्चारण गर्न पनि सरम लाग्नुपर्ने बताए ।

‘ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै होइन’, उनले भने, ‘अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरू तपाइँ हामी कहाँँ आउन सक्छन्, भम्रमा नपर्नु होला ।’

फरक÷फरक आस्था र विचार राख्ने हामी सबैलाई स्रष्टा र सृजनाले एकै ठाउँमा बाँध्न सक्ने भएकाले राजनीतिभन्दा साहित्य धेरै शक्तिशाली भएको नेता सिटौलाको भनाइ थियो । उनले सबै स्रष्टा र सृजनालाई उचित सम्मान गर्नुपर्ने बताए ।

यसैबीच साहित्यकार तथा राजनीतिक व्यक्तित्व दयानन्द गोश्वामीद्वारा लिखित मञ्जरी कविता सङ्ग्रहको नेता सिटौलाले विमोचन गरे । रेडक्रसकर्मीसमेत रहनुभएका गोश्वामीको ‘पल्लवी’ पछिको यो दोस्रो कविता सङ्ग्रह हो । एक सय ९१ वटा कविता सङ्गृहीत पुस्तक एक सय ९२ पृष्ठको छ ।

कार्यक्रममा ज्येष्ठ प्रेमिल जोडी बझारु राजवंशी–पानो राजवंशी, रत्नप्रसाद खतिवडा–लीलाकुमारी खतिवडा, अविराम साह–तारादेवी साह, हरिप्रसाद–हरिमाया पााठक, चूडामणि–चित्रादेवी दाहाल, देवकुमार–रत्नादेवी राजवंशी, दिलबहादुर–ललिमाया राई, सुनदरला–उर्मिलादेवी गणेशलाई सम्मान गरिएको थियो ।

सामाजिक व्यक्तित्वका रूपमा बाबुलाल टुडु, सुभाषचन्द्र सिंह राजवंशी, धनपति उप्रेती, चन्द्रप्रकाश योङ्हाङ, रामप्रसाद गणेश, उत्तमकुमार सुवेदीलाई सम्मान गरिएको थियो । त्यस्तै एकल महिला सीता पाठकलाई पनि सम्मान गरिएको थियो ।

स्रष्टा सम्मानतर्फ चिरञ्जीवी काफ्ले, विनोद विवश, केशव आचार्य, पवन राजवंशीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै बाह्रदशी निवासी शीवराम लिम्बूलाई आविष्कारकका रूपमा सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट नृत्यकारका रूपमा स्वीकृति सुवेदीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्